अदालतले आफ्नै खातामा २ करोड ट्रान्सफर गरिदिने भन्दै पत्र बनाएपछि...

काठमाडौं । काठमाडौं जिल्ला अदालतको लेटरप्याड, छाप तथा अधिकारीहरूको दस्तखत समेत कीर्ते गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय विवश अधिकारी रहेका छन् ।  

ब्यूरोका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले अधिकारीलाई जेठ २५ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुङ्गलबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

अधिकारीले काठमाडौं जिल्ला अदालतको नक्कली लेटरप्याड प्रयोग गरी विभिन्न झुठ्ठा र भ्रमपूर्ण कागजपत्रहरू तयार पारेको अनुसन्धानबाट खुलेको छ ।  

उनले गत २०८२ चैत १५ गते आफ्नै नाममा ‘मुद्दा खोल्ने तथा पुनः प्रमाणिकरण सम्बन्धी सूचना’ नामक कीर्ते पत्र बनाएका थिए । उक्त पत्रमा मुद्दाको अन्तिम निर्णय भएपछि आफ्नो बैंक खातामा २ करोड १३ लाख रुपैयाँ रकमान्तरण हुने उल्लेख गरिएको थियो ।  

त्यसैगरी, गत २०८२ चैत २४ गते ‘सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत’ तयार पारी अदालतले आफूलाई १ लाख ६ हजार ५ सय रुपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरेका थिए ।  

आफ्नो स्वार्थ अनुकूलका यी व्यहोराहरू प्रमाणित गर्न उनले काठमाडौं जिल्ला अदालतको लेटरप्याड, छापका साथै न्यायाधीश, श्रेस्तेदार र शाखा अधिकृतको दस्तखत समेत कीर्ते गरी प्रचलनमा ल्याएका थिए ।  

अदालतका कागजात र अधिकारीहरूको दस्तखत कीर्ते गरिएको फेला परेपछि अदालतका कर्मचारीले दोषीमाथि कारबाहीका लागि सीआईबीमा निवेदन दिएका थिए । 

सोही निवेदनका आधारमा ब्यूरोले खोजी कार्य तीव्र पारी अधिकारीलाई सतुङ्गलबाट पक्राउ गरेको हो । पक्राउ परेपछि टोखास्थित उनको डेरामा खानतलासी गर्दा प्रहरीले अन्य कीर्ते कागजातहरू समेत फेला पारेको छ।  

हाल अभियुक्त अधिकारीलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई ब्यूरोको हिरासतमा राखिएको  र उनीमाथि लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

Share News