काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने गरी गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै अधिवक्ताहरू अनिल आचार्य, दीपकराज जोशी, कृष्णबहादुर खनाल र चुडामणि भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार भोलि पेसी तोकिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो, जसलाई खारेज गर्न रिट निवेदकहरूले माग गरेका हुन् ।
रिट निवेदनमा सरकारको यो निर्णयले विशेष गरी शिक्षा क्षेत्रमा गम्भीर र नकारात्मक असर पारेको दाबी गरिएको छ ।
हप्तामा दुई दिन बिदा दिँदा विद्यालय र विश्वविद्यालयहरूको पठनपाठन ठप्प हुने र यसले निर्धारित राष्ट्रिय पाठ्यक्रम, पाठ्यभार र क्रेडिट आवर पूरा गर्न नसकिने जिकिर रिटमा गरिएको छ ।