कांग्रेसले अब प्रधानमन्त्रीको सीमासम्बन्धि अभिव्यक्तिलाई थप नलम्बाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दलका नेता भीष्मराज आङदम्वेले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा गम्भीर आपत्ति जनाउँदै उक्त विषयलाई अब थप रुमल्लिन नदिने स्पष्ट पारेका छन् ।

बुधबार (आज) प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका तर्फबाट धारणा राख्ने क्रममा सांसदले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित र संवेदनशील कूटनीतिक विषयसँग जोडिएको भन्दै त्यसप्रति आफ्नो असहमति रहेको बताए ।

उनले प्रधानमन्त्रीलाई संसदको आवश्यकता नलाग्न सक्ने भए पनि लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षका लागि संसद प्रमुख थलो रहेको उल्लेख गरे । 

संसदलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने दायित्व सबै राजनीतिक दलको भएको भन्दै उनले विवादित विषयमा सरकारबाट स्पष्टीकरण आइसकेकाले अब सदनलाई नियमित प्रक्रियामा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफ्नो असन्तुष्टि यथावत रहे पनि संसदलाई लामो समयसम्म अवरुद्ध राख्नु उपयुक्त नहुने निष्कर्षमा पुगेको जनाए ।

Share News