काठमाडौं । जेनजी आन्दोलनमा बालसुधार गृहबाट फरार भएका एक किशोर तेस्रो पटक चोरी कसुरमा पुनः पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङले नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङका १९ वर्षीय याकुव नेपालीलाई चोरी गरेको आरोपमा पुनः पक्राउ गरेको हो ।
भक्तपुरस्थित बालसुधार गृहमा भुक्तान गरिरहेकै अवस्थामा २०८२ भदौ २५ गते उनी फरार भएका थिए ।
प्रहरीका अनुसार गत आइतबार धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ निवासी मिनबहादुर तामाङको घरमा ताला फुटाएर चोरी भएको घटनाको उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको हो ।
उनले घरबाट एक तोला सुनको नौगेडी माला, ३५।३ लाल सुनको माइली तिलहरी र १० हजार रुपैयाँ नगद चोरी गरेका थिए ।
स्थानीयले दिएको हुलिया तथा सूचनाका आधारमा याकुवलाई प्रहरीले नेपालीलाई पहिचान गरी २५ गते उनको घर तथा शरीर खानतलासी गरेको थियो ।
प्रहरीले उनको साथबाट सुनजस्तो देखिने पहेंलो धातुको नौगेडी ९ थान, सुनजस्तो देखिने पहेँलो धातुको औंठी ३ थान, एउटा मोबाइल फोन र नगद ४ हजार १०० रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेका याकुवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४३ अन्तर्गत चोरी कसूरमा मुद्दा दर्ता गरिएको छ ।
धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार नेपाली यसअघि पनि दुईवटा चोरी मुद्दामा दोषी ठहर भएका थिए । उनी २०७८ चैत २१ गते बागलुङ नगरपालिका–९ तित्याङस्थित रामप्रसाद शर्माको घरबाट सुनका गरगहना चोरी गरेको अभियोगमा पक्राउ परेका थिए ।
बागलुङ जिल्ला अदालतले उक्त मुद्दामा उनलाई दुई वर्ष बालसुधार गृहमा राख्ने तथा २३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
त्यसैगरी, २०८१ असोज १५ गते धादिङको सिद्धलेक गाउँपालिका–५ स्याखुटारस्थित कल्पना घलेको घरबाट ६४ हजार ५८० रुपैयाँ चोरी गरेको आरोपमा उनी पुनः पक्राउ परेका थिए ।
उनीविरुद्ध धादिङ जिल्ला अदालतले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।