लालपुर्जा बनाउन १ लाख ६० हजार घुस खाने चावहिलका खत्रीविरुद्ध मुद्दा

काठमाडौं । नापी कार्यालय चावहिलअन्तर्गत २ र ३ नम्बर नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार खत्रीले जग्गा हालसाबिक गरी जग्गाधनी पूर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस मागेका थिए ।

उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नगद रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट खत्रीले आफ्नो पदको दुरुपयोग गर्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। 

सोही आधारमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनबमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

Share News