काठमाडौं । सुनसरीको इटहरीमा ४ हजार जनासम्म अटाउने क्षमताको अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट तथा कन्भेन्सन सेन्टर निर्माण हुने भएको छ । एबी हस्पिटालिटी (विन्डम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) नामक उक्त परियोजनालाई पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ ।
परियोजनाको वित्तीय व्यवस्थापन एभरेष्ट बैंकको नेतृत्वमा हुनेछ भने मुक्तिनाथ विकास बैंकको सहकार्य रहनेछ । एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले परियोजनाको नेतृत्व गर्नेछन् ।
होटल व्यवसायमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउने क्रममा बस्नेतले यसअघि काठमाडौंमा ‘मर्क्यौर’ र इटहरीमा ‘रमाडा बाइ विन्डम’ सञ्चालनमा ल्याइसकेका छन् । यो परियोजना उनको तेस्रो अन्तर्राष्ट्रिय स्तरको होटल तथा आतिथ्य परियोजना हो ।
परियोजना सम्पन्न भएपछि इटहरीलाई वेडिङ डेस्टिनेशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी तथा व्यावसायिक कार्यक्रमहरूको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । यसले पूर्वी नेपालका इलाम, कञ्चनजङ्घा, चतरा धाम, बराहक्षेत्र, कोशी टापु र भेडेटारजस्ता पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
परियोजनाले विराटनगर-इटहरी-धरान आर्थिक तथा पर्यटन करिडोरलाई थप सुदृढ गर्दै क्षेत्रीय आर्थिक गतिविधि विस्तार गर्ने विश्वास लिइएको छ । साथै, भारत, भुटान र बंगलादेशबाट आउने पर्यटक तथा व्यावसायिक आगमनलाई समेत यसले थप प्रोत्साहन गर्ने बताइएको छ ।
परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीका अनुसार, यो कन्भेन्सन सेन्टर केवल होटल संरचना मात्र नभई पूर्वी नेपालको पर्यटन, रोजगारी सिर्जना र निजी क्षेत्रको लगानी विस्तारमा दीर्घकालीन योगदान दिने आधारभूत परियोजना हुनेछ ।
परियोजना सञ्चालनमा आएपछि हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने, स्थानीय उत्पादनको खपत बढ्ने र क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।