महाधिवेशनअघि काँग्रेसमा सहमतिको पहल तीव्र, प्रवक्ता चालिसे भन्छन् - विधान सर्वोपरि हुन्छ

काठमाडौं । नेपाली काँग्रेसले पार्टी विधानले तोकेको सीमाभित्र रहेर नेताहरूको व्यवस्थापन तथा आन्तरिक समायोजनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । महाधिवेशन नजिकिँदै जाँदा देखिएका आन्तरिक मतभेद र नेतृत्व व्यवस्थापनसम्बन्धी बहसबीच पार्टीले संवाद र सहमतिको माध्यमबाट समाधान खोज्ने संकेत दिएको हो ।

पूर्व प्रवक्ता प्रकाशशरण महतले हाल पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व रहने बनाउन छोटो समयका लागि साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् । उक्त प्रस्तावसँगै काँग्रेसभित्र आन्तरिक छलफल थप सक्रिय बनेको छ ।

यसैबीच पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीलाई सुदृढ बनाउन सबै पक्षलाई समेटेर अघि बढ्न काँग्रेस तयार रहेको बताएका छन् । तर उनले विधानविपरीत जाने कुनै पनि अतिरिक्त माग स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

विकासन्युजसँग प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले भने, 'पार्टीलाई सुदृढीकरण गर्न अर्को पक्षलाई समेट्न तयार छौँ, तर विधान मिच्ने गरी अतिरिक्त माग राख्नु हुँदैन । विधानले दिएको तहसम्म पार्टी लचक हुन्छ ।'

उनका अनुसार पार्टीले विधानले निर्धारण गरेको संरचना र अनुशासनभित्र रहेर नेताहरूको समायोजन गर्ने विषयमा कुनै कञ्जुस्याइँ गर्ने छैन । तर सबै प्रक्रिया पार्टी विधान र अनुशासनको दायराभित्र मात्र हुने उनले दोहोर्याए ।

महाधिवेशनको तयारीसँगै काँग्रेसभित्र नेतृत्व, प्रतिनिधित्व र संगठनात्मक संरचनाबारे बहस चुलिएको छ । यद्यपि नेताहरूले आन्तरिक असहमति समाधान गर्दै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइरहेका छन् ।

यसैबीच महाधिवेशनको पूर्वसन्ध्यामा आएको सहमतिको संयन्त्र गठनको प्रस्तावले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनबारे नयाँ बहस सुरु गरेको छ । काँग्रेसले लिएको लचकता र विधानअनुसारको व्यवस्थापनको सन्देशले आगामी महाधिवेशनको राजनीतिक माहोल थप निर्णायक बन्ने संकेत देखिएको छ ।

Share News