काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअघि पार्टीको राजनीतिक दर्शन र वैचारिक मार्गदर्शनका लागि सात आधारभूत स्तम्भ तय गरेको छ । महाधिवेशनमा प्रस्तुत गरिने विधानको मस्यौदामार्फत रास्वपाले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समावेशितालाई केन्द्रमा राख्दै आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट पारेको हो ।
प्रस्तावित विधानमा रास्वपाले पहिलो आधारका रूपमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन लाई अघि सारेको छ । वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूतिसहित बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तथा विधिमा आधारित जवाफदेही र सुशासित राज्य व्यवस्था निर्माण गर्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ ।
दोस्रो आधारका रूपमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्र लाई समेटिएको छ । समतामूलक विकासप्रति प्रतिबद्ध रहँदै सामाजिक न्याय सुनिश्चित गर्ने, उदार अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने तथा प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्थाको अभ्यास गर्ने नीति विधानमा उल्लेख गरिएको छ ।
रास्वपाले तेस्रो वैचारिक आधारका रूपमा संवैधानिक समाजवादलाई परिभाषित गरेको छ । शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत समाजवादका मूल लक्ष्य हासिल गर्दै राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालन गर्ने प्रतिबद्धता प्रस्तावित विधानमा समावेश गरिएको छ ।
चौथो आधारमा समन्यायिक समावेशिता लाई जोड दिइएको छ । अवसर, पहुँच र स्रोत–साधनको न्यायोचित वितरणमार्फत लैंगिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेद अन्त्य गर्दै समावेशी समाज निर्माण गर्ने लक्ष्य पार्टीले लिएको छ ।
त्यसैगरी पाँचौं आधारका रूपमा योग्यता, सुशासन र सदाचार लाई प्राथमिकतामा राखिएको छ । राज्य संयन्त्रमा योग्यता, दक्षता र कर्मशीलतालाई प्रोत्साहन गर्दै भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ ।
छैटौं आधारमा सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्वलाई समेटिएको छ । नेपालको ऐतिहासिक विरासत, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधताको सम्मान गर्दै सहअस्तित्व र पारस्परिक सम्मानको संस्कृतिलाई प्रवर्द्धन गर्ने नीति रास्वपाले अघि सारेको छ ।
सातौं तथा अन्तिम आधारका रूपमा उन्नत लोकतन्त्र, सुशासन र पार्टी सञ्चालनका लोकतान्त्रिक मान्यता लाई स्थापित गरिएको छ । प्रस्तावित विधानमा उल्लेख गरिएका लोकतान्त्रिक मूल्य, मान्यता र सुशासनका सिद्धान्तहरू पार्टी सञ्चालनका आधारस्तम्भ हुने तथा पार्टीका सम्पूर्ण संरचना, कार्यविधि र नीतिहरू सोही सिद्धान्तअनुसार निर्देशित हुने व्यवस्था गरिएको छ ।
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । महाधिवेशनमार्फत पार्टीले आफ्नो संगठनात्मक संरचनासँगै वैचारिक आधारलाई पनि औपचारिक रूप दिने तयारी गरेको छ । उक्त सात वैचारिक आधारलाई रास्वपाले आगामी राजनीतिक यात्रा र नीति निर्माणको मार्गदर्शक दस्तावेजका रूपमा अघि सारेको छ।