काठमाडौं । अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै दुबईको लागि दैनिक उडान हुने भएको छ । फ्लाई दुबईले एक सूचना जारी गर्दै दैनिक उडान गर्ने घोषणा गरेको हो ।
फ्लाई दुबईका अनुसार आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुवई रुटमा दैनिक उडान सञ्चालन हुन लागेको हो ।
नयाँ उडानले नेपालको दोस्रो ठूलो सहर तथा पर्यटन राजधानी पोखरालाई मध्यपूर्वसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोड्ने अपेक्षा गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको हो ।
अनुमतिअनुसार ‘बोइङ ७३७’ विमान प्रत्येक दिन बिहान ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे दुबईका लागि उड्नेछ । हाल फ्लाई दुबईले काठमाडौं–दुबई सिधा उडान सञ्चालन गर्दै आएको छ ।
पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न सहर हो । अब अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना खुलेको छ । यसअघि विमानस्थलबाट चीन, भुटानलगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए ।
उनले केवल हवाई सेवा थपिएको विषय नभई पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर भएको उल्लेख गरे ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले संयुक्त अरब इमिरेट्स ९यूएई० का महामहिम राजदूतसँग पर्यटन आदान–प्रदान तथा पोखरा–यूएई सिधा उडान सञ्चालनका विषयमा भएको छलफल सकारात्मक र उपलब्धिमूलक रहेको स्मरण गरे।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले दुबई उडानले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ० का अध्यक्ष ममता न्यौपानेले पोखरा–दुबई नियमित उडानको सुरुआतले पोखराको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताइन् ।
दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रु प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडानको सुरुआतसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ ।
फ्लाई दुबईले सञ्चालन गर्ने उक्त सेवाका लागि यात्रुहले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।