काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन छिट्टै हुने दावी गरेका छन् ।
पोखरेलले कार्यदलबाट प्राप्त सुझावका आधारमा पुनर्गठन अघि बढाइने बताए । उनले एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउँदै नयाँ ढंगले अघि बढाउन आवश्यक रहेको स्पष्ट पारे ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी रणनीति तय गर्न तथा निर्वाचन समीक्षा गर्न पार्टीले विशेष कार्यदल गठन गरेको जानकारी दिए ।
उनले उक्त कार्यदलले मातहतका कमिटी र पार्टी पंक्तिबाट सुझाव संकलन गरिरहेको र त्यसैका आधारमा पुनर्गठनसम्बन्धी निर्णय लिइने बताए ।
‘अहिले पार्टीले संस्थागत रूपमा चुनावको समीक्षा गर्ने र पुनर्गठनको दिशामा कसरी अगाडि बढ्ने भन्ने विषयमा कार्यकर्ताहरूको भावना बुझ्ने काम गरिरहेको छ,’ पोखरेलले भने, ‘पार्टी पंक्तिबाट प्राप्त सुझावकै आधारमा आवश्यक निर्णयहरू गरिनेछन् ।’
महासचिव पोखरेलले वर्तमान राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार एमालेले आफूलाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनका अनुसार पार्टीभित्रका कार्यकर्ताहरू पनि यथास्थितिमा अघि बढ्नुभन्दा परिवर्तन र सुधारको पक्षमा देखिएका छन् ।
उनले पार्टीलाई थप बलियो बनाउन वैचारिक स्पष्टता, राजनीतिक एकता र संगठनात्मक सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्दै यथास्थितिले मात्रै पार्टी एकताबद्ध हुन नसक्ने धारणा राखे ।
‘पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले थप एकताबद्ध बनाउनु आजको आवश्यकता हो,’ उनले भने ।
पोखरेलका अनुसार यथास्थितिमा बसेर त्यो लक्ष्य हासिल गर्न सकिँदैन ।
पोखरेलले एमालेभित्र शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरणको अभियान आवश्यक रहेको पनि औंल्याए । उनले पार्टीलाई जनतासँग अझ नजिक, कार्यकर्तामुखी र प्रभावकारी बनाउने दिशामा पुनर्गठन प्रक्रिया केन्द्रित हुने दाबी गरे ।
एमालेले पछिल्लो समय संगठनात्मक पुनर्संरचना, जनाधार विस्तार र आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न तहमा समीक्षा तथा सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ ।