इमानदार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा गर्छु, भाग्नेलाई ठाउँ छैन : अध्यक्ष लिङदेन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान् र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् ।

राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरे । अध्यक्ष लिङदेनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरसङ्घर्ष वा विगतका कुनै पनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उनले आफू सबैको अभिभावक भएर काम गर्ने बताए । यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने उनले स्पष्ट पारे ।

उनले भने, ‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन । सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु । काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैँ धकेलेर बिदा गरिदिन्छु ।’

पार्टीको सङ्गठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै अध्यक्ष लिङदेनले यस कार्यमा तत्काल केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

अध्यक्ष लिङदेनले योजनाबद्ध ढङ्गले नातागोता र छरछिमेक हुँदै सङ्गठन विस्तारमा लाग्न आग्रह गर्दै निकट भविष्यमा राप्रपामा जनलहर आउने दाबीसमेत गरे । इमानदार भएर वडा जिताउने र पार्टीको जिम्मेवारी बहन गर्ने सङ्कल्पका साथ अघि बढ्न उनले कार्यकर्तालाई हौसला दिए । 

Share News