आगामी पाँच वर्षभित्र पर्यटक आगमन दोब्बर बनाउनेदेखि यी योजना प्राथमिकतामा

काठमाडौं । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास, विस्तार, सुधार र प्रवर्द्धनको लागि बजेटमार्फत विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले सोमबार (आज) प्रदेश सभामा आर्थिक मामिला  तथा याेजनामन्त्री जीत बहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटनका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

बजेटमार्फत प्रदेश सरकारले आगामी पाँच वर्षसम्ममा अन्तर्राष्ट्रिय पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य लिएको छ । त्यस्तै, पूर्वाधार निर्माण, प्रचार–प्रसार, हवाई पहुँच विस्तार तथा सीमापार पर्यटन प्रवर्द्धनमा जोड दिइने भएको छ ।

बजेटमार्फत प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण तथा स्तरोन्नति र पर्यटनमैत्री सेवाको विकास तथा विस्तारमा जोड दिएको छ । पर्यटन प्रवर्द्धनका लागि ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टु लेक’ कार्यक्रमलाई निरन्तरता दिएको छ । यसबाट आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई स्थानीय कला, संस्कृति, परम्परा र उत्पादन पर्यटनसँग आवद्ध भई आयआर्जनमा वृद्धि हुने जनाएको छ ।

प्रदेश सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ । ‘गण्डकी जाऔं प्रकृति र संस्कृतिसँग रमाऔं’  अभियानलाई थप सुदृढ बनाई पोखरालाई ‘स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटन केन्द्र’ का रूपमा विकास गरिनेछ ।

दामोदर कुण्ड – मुक्तिनाथ गलेश्वर पञ्चकोट रिडी रामदी– केलादिघाट देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासमा जोड दिएको छ । त्यस्तै, यस परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गरिने भनिएको छ । बजेटले मोदीबेनीधाम देखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइने भएको छ ।

प्रदेश सरकारले बजेटमार्फत मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रीय पदमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग पहिचान तथा प्रवर्द्धन गरिने भएको छ । ढोरपाटनको बुकी संरक्षण तथा जलाशय निर्माण गरी आन्तरिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । 

‘राउण्ड फेवाः भ्यू फेवा’ कार्यक्रमलाई निरन्तरता दिई क्लोज सर्किटलाई पूर्णता दिइने भएको छ । फेवा होराइजन पेडेस्ट्रियन ब्रिज (सेल्फी ब्रिज) तथा रूपातालमा सिसाको पुल निर्माणसम्बन्धी कार्यलाई अगाडि बढाउने योजना प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले पोखरा महानगरपालिकासँगको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यीकरणका लागि रु. ५ करोड विनियोजन गरेको गरेको छ ।

त्यसैगरी ‘एक जिल्लाः एक पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै स्थानीय संस्कृति, होमस्टे, फार्म स्टे र रैथाने उत्पादनको ब्रान्डिङ तथा स्तरीकरण गरिने जनाएको छ । त्यस्तै पर्यटकीय सूचना केन्द्र, पर्यटक प्रहरी तथा आपतकालीन उद्धार कार्यलाई सुदृढ गर्दै पर्यटक सुरक्षा प्रणाली प्रभावकारी बनाइने भएको छ ।

युवा जनशक्तिलाई लक्षित गरी ‘प्रविधिमा जोडौः समुन्नतिमा मोडौं’ अवधारणा लिई पर्यटकीय राजधानी क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणका लागि बजेट विनियोजन गरेको जनाएको छ । 

त्यस्तै युवा जनशक्तिलाई लक्षित गरी ‘प्रविधिमा जोडौंः समुन्नतिमा मोडौं’  अवधारणा लिई पर्यटकीय राजधानी क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ ।

लोकाहाखोला र पुँडिटार औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, पूर्वाधार निर्माण तथा सञ्चालन कार्यलाई तीव्रता दिने  र पर्यटन, उद्योग तथा वाणिज्य प्रशासन सेवालाई क्रमशः अनलाइन प्रणालीमा आवद्ध गर्दै लगिने योजना गण्डकी प्रदेश सरकारले अघि सारेको छ । 

Share News