काठमाडौं । नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी पत्नी शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा पक्राउ पक्राउ परेको जानकारी दिए ।
पक्राउ परेका तीनैजना बैंकिङ कसुर मुद्दामा फरार थिए ।
अब तीनै जनामाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ परेका तीनै जनालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बुझाइसकिएको छ ।
प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरिएको, नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको भनी अनुसन्धान अघि बढाइएको थियो ।
यसअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा तीन अर्ब २० करोडभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ । हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन् ।
अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायतका व्यक्ति पनि रहेका छन् ।
बैंकको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो ।