काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले झापाको बिर्तामोड नगरपालिका–९ स्थित श्री दुर्गा माध्यमिक विद्यालय लाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ ।
बैंकको बिर्तामोड शाखामार्फत आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख खिम लाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
दृष्टिविहीन छात्रावासका विद्यार्थीहरूको आवश्यकता मध्यनजर गर्दै बैंकले सहयोग प्रदान गरेको जनाएको छ । प्रदान गरिएको कुलरले गर्मी मौसममा छात्रावासभित्रको तापक्रम सन्तुलित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ भने ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीहरूको पठनपाठनका लागि अत्यावश्यक सामग्रीका रूपमा उपयोग हुने अपेक्षा गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक सापकोटाले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास र समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।