सिँगो पत्रकारिता क्षेत्रको हुर्मत लिने घटनाहरू बेलाबेलामा सार्वजनिक भैरहन्छन् । विडम्बनाको कुरा यस्तो घटनाका कारक स्वयं कलम समाउने, माइक समाउने वा क्यामेरा अघि बोल्ने मिडियाकर्मी भनिएकाहरू नै हुन्छन् । एउटा सन्दर्भ सेलाउन नपाउँदै अर्को नमुना घटना सामुन्ने आउँछ ।
कञ्चनपुरकी एकजना महिला पत्रकार भनिएकी युवतीको पछिल्लो भिडियो यतिबेला भाइरल मात्रै छैन, पत्रकारिता पेशा र पत्रकारहरूको बदनाम गर्न पुग्दो उदाहरण बन्न पुग्यो । एउटा सार्वजनिक कार्यक्रम स्थलमा पुगेर ती युवती र वडा अध्यक्षबीच भएको चर्काचर्की अशोभनीय र अमर्यादित छ ।
अहिलेको पुस्ता कुन मनोदशा लिएर यो क्षेत्रमा प्रवेश गर्छन् होला भनेर उत्सुकता जाग्छ । अनि हामी प्रवेश गर्दाताका मनमा जुन चित्र बनाएर आउँथ्यौं, अहिले त्यो फेरिएको होला कि केही मानिसमात्र फेरिएका हुन् भन्ने दुविधामा पर्छु ।
सम्वादमै वडा अध्यक्षको घाँटी समाएर पत्रकार भनिएकी युवतीले आफ्ना सबै सीमा मिचेकी छिन् । उक्त घटनाको भिडियो क्लिप्सहरू हेर्दा साह्रै लज्जाबोध भयो । झण्डै साढे २ दशक बढी समयदेखि यो क्षेत्रमा आवद्ध रहँदा गौरव लाग्छ । तर, पछिल्ला वर्षहरूमा समग्र छवि धमिलिँदै गएको महसुस हुँदा पत्रकार भनेर चिनाउन र सवारी साधनमा प्रेस लेखेर हिँड्न मन लाग्दैन ।
दिनभर उक्त भिडियोले मन चैन रहेन । पत्रकारितामा मौलाउँदो उदण्डताले यही क्षेत्रको एउटा सिपाहीका नाताले दुःखी र आत्मालोचित बनाउँछ । अहिलेको पुस्ता कुन मनोदशा लिएर यो क्षेत्रमा प्रवेश गर्छन् होला भनेर उत्सुकता जाग्छ । अनि हामी प्रवेश गर्दाताका मनमा जुन चित्र बनाएर आउँथ्यौं,अहिले त्यो फेरिएको होला कि केही मानिस मात्र फेरिएका हुन् भन्ने दुविधामा पर्छु ।
साथीभाइभन्दा पढाइमा पछि परेको र नेपालगञ्जमा पढिसकेको कक्षा फेरि दोहोर्याएर बाआमाको दुःखको लगानी खेर फालेको पीरले मन पिल्सिँदै गयो । विस्तारै निदाउन नसक्ने समस्या सुरु भयो । पछि कतै ‘डिप्रेशन’मा त पुगिनँ भनेर आफैलाई शंका हुन थाल्यो ।
२०५४ सालतिर एउटा इमानको चित्र मनमा कोरेर त्यस अनुकूल आफूलाई बदल्न कसम खाएर यो क्षेत्रमा प्रवेश गरेको समय सम्झिन्छु । पत्रकारिता कुनै ‘कन्टेन्ट क्रिएसन’ होइन, यो सार्वजनिक विश्वासको संरक्षक हो भन्ने मनमा टाँसेर यसमा होमिएको याद गर्छु । पत्रकारिता गर्न यसको सैद्धान्तिक र प्राज्ञिक ज्ञान अनि व्यवहार बदल्न गरेको प्रयास सम्झन्छु ।
सन्दर्भ १
सँगैका साथी बीए पढ्न थालेका थिए । म भने आईएमा फेरि भर्ना भएको थिएँ । यो कुरा झण्डै एक डेढ वर्ष मेरो अन्तर्मनले स्वीकार्न सकेन । बिर्सन खोज्दा पनि कताकता घोचिरहने घाउ जस्तो बन्यो ।
पत्रकार बन्न पत्रकारिता नै पढ्नु पर्छ भन्ने चेत मनले जितेर पढिसकेको आईए दोहोर्याउन काठमाडौं आएँ अनि रात्रि सिफ्टमा भर्ना भएँ । अचेत मनले भने दुई वर्ष खेर फालेको र सँगैका साथीभाइ भन्दा पछि परेको भन्दै घोच्न थाल्यो । कलिलो उमेर, एक्लो बसाइले सम्हालिन सिकाएन । बरु गम्भीर मानसिक द्वन्द्वमा फसाइदियो ।
घट्टेकुलो चोकदेखि दक्षिण अनि अनामनगरचोकदेखि अलिक उत्तर पश्चिम भित्र एउटा अग्लो पाँच तले घरको दोस्रो तलामा एक्लै बस्थेँ । त्यस घरको ठिक सामुन्ने हाँस्य कलाकार हरिवंश आचार्यको घर थियो त्यसबेला । घट्टेकुलोबाट कालिमाटी ताहाचलमा रहेको साप्ताहिक पत्रिका ‘जन्मभूमि’मा काम गर्न जाने अनि रात्रि सिफ्टमा आरआरमा पत्रकारिता पढ्ने दैनिकी थियो । बाहिरबाट हेर्दा चल्तापूर्जा दैनिकी थियो ।
तर, भित्रभित्र सँगैका साथीभाइभन्दा पढाइमा पछि परेको र नेपालगञ्जमा पढिसकेको कक्षा फेरि दोहोर्याएर बाआमाको दुःखको लगानी खेर फालेको पीरले मन पिल्सिँदै गयो । विस्तारै निदाउन नसक्ने समस्या सुरु भयो । पछि कतै ‘डिप्रेशन’मा त पुगिनँ भनेर आफैलाई शंका हुन थाल्यो । २० वर्ष पनि नपुगेको कलिलो उमेरमा यस्तो संकेत डरलाग्दो लाग्यो आफैलाई । मानसिक समस्या सुनाउँदा के भन्लान् भनेर साथीभाइलाई पनि सुनाउन सकिनँ । डरले समस्या झन् लुकाउन थालेँ ।
घरको जेठो छोरो । बाआमादेखि टाढा थिएँ । खास आफन्त पनि त्यसबेला काठमाडौंमा कोही पनि नभएकाले परिवारका मानिसले थाहा पाउने कुरा पनि भएन । समस्या झन् बढ्न थाल्यो । कोठामा एक्लै । खालि छटपटी हुने । सुत्न नसक्ने । निद नपुग्ने हुँदै गएपछि असर अनुहारमा झल्किन थाल्यो । आँखामा प्रष्ट छायाँ देखिन थाल्यो । अब त अरूले नि थाहा पाउने भए भनेर अर्को चिन्ता थपियो । डाक्टरको दैलोमा पुग्नु अनिवार्य जस्तै भयो । अनि एक दिन अब त डाक्टर कहाँ जान्छु भनेर सोचेँ । अनि घरको अरू कोठामा बस्ने डेरावाल छिमेकीहरूलाई समेत थाहा नदिएर सुटुक्क मैतीदेवीमा क्लिनिक रहेको एकजना मनोचिकित्सककहाँ पुगेँ । सायद सुवेदी थर थियो । उनको नाम मलाई अहिले याद हुन सकेन । उनले मेरा सबै कुरा ध्यानपूर्वक सुनेर एक्लै सकेसम्म नबस्ने, खाली नबस्ने, मनमा कुरा नखेलाउने र नियमित औषधी खाने भन्दै खासै समस्या छैन भनेर राम्रो परामर्श दिएर पठाए ।
त्यो औषधी कति समयसम्म खाएँ भन्ने अहिले मलाई सम्झना छैन । तर, दोहोर्याएको आईए पनि नियमितमै पास भएँ । काम पनि गर्दै गएँ, सिकारु भए पनि आफू माथिका साथीहरूले नयाँ खुलेका मिडियामा जाखिर खान जाँदा कलिलै उमेरमा भूमिका पनि बढ्यो ।
फ्याट्ट तीन दिने तालिमको मौका पाएपछि मैले पत्रकारितामा प्रवेश पाएको थिएँ । यही क्षेत्रमा केही गर्ने अठोट जागेपछि पत्रकारिताको औपचारिक अध्ययन जरुरी ठानेर म काठमाडौं हानिएको थिएँ ।
पद पनि बढ्यो । जन्मभूमि हुँदै खबरकागज साप्ताहिकमा आवद्ध भएँ । रेडियो सगरमाथाका लागि शिक्षासम्बन्धि कार्यक्रमको प्रोड्युसर भएँ । साथीभाइ पनि थपिँदै गए । पैसा पनि कमाउन थालेँ । मेरो निधार भित्र सकसक गर्ने समस्या कहिले चट् भयो मलाई नै पत्तो भएन ।
सन्दर्भ २
स्कुल पढ्दा फेशनमा अलि बढ्तै रुचि थियो । जिन्स पाइन्ट लाउने, फित्ते बकुल्ला छाप चप्पल फालेर नयाँ डिजाइनका खुट्टा छिराउने चप्पल लाउने, १० नम्बर लेखिएको जालीदार गञ्जी, हाफ कट्टु लाउने, सर्ट पाइन्टमा स्टीकर टाँस्ने, साइकिलको फ्रेविलको बेल्ट बनाएर लाउने गरिन्थ्यो ।
प्यारेलाल, बेलिबटम स्टायलका पाइन्ट स्कुलमा भित्र्याउने सायद त्यस बेला म थिएँ । कहिले अगाडि पूरै अनुहार छोपिनेगरी त कहिले पछाडि लामै कपाल पाल्ने अनि पेन्टको पछाडिको खल्तीमा लामो काइँयो भिरेर स्कुल जानेवाला पनि म थिएँ । अचेल जस्तो स्कुलमा शौचालय हुन्थेन, खाली पिरियडमा स्कुल पछाडिको खेतमा खुला शौच गर्न जाँदा नाडीको चिमचिमे घडीमा ऐना हेर्दै कपाल मिलाउने झिल्के थिएँ ।
क्याम्पस पढ्न नेपालगञ्ज पुगेपछि झन् फेशन संसारमा पुगेजस्तो भयो । रङ–रङका जिन्स पेन्ट त्यसबेला खुब फेशनमा आएका थिए । हरियो, कलेजी र सेतो गरी तीन रङका पाइन्ट किनेको थिएँ । गोलो गला भएका, भीसेपका टीसर्ट पनि नयाँ–नयाँ डिजाइनका थिए । कपाल पाल्ने शौख पनि मरेको थिएन । सिलाएका सर्ट पाइन्टमा त मनै जाँदैन थियो ।
यस्तो दैनिकीबीच फ्याट्ट तीन दिने तालिमको मौका पाएपछि मैले पत्रकारितामा प्रवेश पाएको थिएँ । यही क्षेत्रमा केही गर्ने अठोट जागेपछि पत्रकारिताको औपचारिक अध्ययन जरुरी ठानेर म काठमाडौं हानिएको थिएँ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा ऐच्छिक अंग्रेजी विषयसहितको प्रमाणपत्र तहको अन्तिम वर्षको परीक्षासँगै पत्रकारिता आरम्भ गरेको थिएँ । त्यसपछि पत्रकारिता पढ्दै, काम सिक्दै, कमाउँदै गर्न काठमाडौं छिरेको हुँ ।
के कति इमान राख्न सकियो, समाज र चिनेबुझेको वर्गले मूल्यांकन गर्ने कुरा भयो । हामी आफू हर–तरहमा ठिक भयौं भने मात्र अरूबारे प्रश्न उठाउन सुहाउँछ भन्ने लाग्छ । समय यस्तो आयो, सूचना नदी होइन, पूरै बाढी बनेर बगिरहेको छ । अनि एउटा गम्भीर प्रश्न उठिरहेको छ, पत्रकारिता अझै सत्यको सेवक छ ? वा ट्रेन्डको दास बन्दैछ ?
नेपालगञ्जको पुरानो बस्ती इदगाह रोडमा एलगार टेलर्स छ । डेरामा मेरा रुम पार्टनर मामा (जीवन न्यौपाने) थिए । उनका साथी तिलक चन्दले देखाइ दिएको त्यो टेलर्सले बजारमा रेडिमेड बनाएर सर्ट पाइन्ट पठाउँछ भन्ने हल्ला थियो क्याम्पसभरि । अचेलजस्तो बाहिरका रोजीरोजी व्राण्डका रेडिमेड सर्टपाइन्ट पाइने जमाना थिएन । अनिसजीको एलगार टेलर्स अहिले पनि चालू छ । गजबको टेलर्स भन्दै त्यहाँ गएर दुई जोर सर्ट पाइन्ट सिलाएँ । रहरले किनेका रंगी–विरंगी जिन्स पाइन्ट र टिसर्टहरू बर्दियाको घरमा लगेर थन्काएँ । अनि त्यसबेला पत्रकारका बारेमा बनाइने कार्टुनले बताए जस्तो चुस्स दाह्री, चिम्से अनुहार, सर्टको खल्तीमा एकदुई कलम, काँधमा भिर्ने झोला टाइपको हुलिया बनाएर काठमाडौंको बस समातेँ ।
यी दुई सन्दर्भ पत्रकारिता प्रवेश गर्दाका मेरा नितान्त निजी हुन् । तर, त्यसबेला पत्रकारिता प्रवेश गर्दा पत्रकारिता बारेको बुझाइ, यस विषयको प्राज्ञिक अध्ययन र तालिमको महत्त्व कस्तो थियो भन्ने उदाहरण हुन् । सायद धेरैले यस्तै सोच्थे । यसरी पत्रकारितामा प्रवेश गर्दा पत्रकारिता कुनै साधारण पेशा होइन, यो त समाजले आफ्नो प्रतिबिम्ब हेर्ने ऐना हो भन्ने बुझेर यता हाम फालियो ।
के कति इमान राख्न सकियो, समाज र चिनेबुझेको वर्गले मूल्यांकन गर्ने कुरा भयो । हामी आफू हर–तरहमा ठिक भयौं भने मात्र अरूबारे प्रश्न उठाउन सुहाउँछ भन्ने लाग्छ । समय यस्तो आयो, सूचना नदी होइन, पूरै बाढी बनेर बगिरहेको छ । अनि एउटा गम्भीर प्रश्न उठिरहेको छ, पत्रकारिता अझै सत्यको सेवक छ ? वा ट्रेन्डको दास बन्दैछ ?
बेलाबेलामा अत्यधिक बोल्ने क्रममा यसले सन्तुलन गुमाउन थालेको छ । यसका मूल्य, मान्यता, सिद्धान्त र आचारसंहिता पालना नहुँदा ‘एक्टिभिज्म जस्तो देखिने हिरोइज्म’ र ‘पत्रकारिता’ बीचको रेखा धमिलो बन्दैछ । डिजिटल युगले पत्रकारितालाई नयाँ औजार दिएको छ, डेटा, कृत्रिम बौद्धिकता (एआई), रियल–टाइम रिपोर्टिङ । तर यी औजारहरू नैतिकता बिना चलाइए भने ती सत्यको होइन, भ्रमको कारखाना बन्ने खतरा छ ।
‘पत्रकारिता त्यो हो, जहाँ अरू कसैले लुकाउन चाहेको सत्यलाई सार्वजनिक गरिन्छ । त्यसबाहेकका सबै कुरा जनसम्पर्क मात्र हुन्’ अंग्रेजी भाषाका वरिष्ठ साहित्यकार तथा पत्रकार स्वर्गीय जर्ज अरवेलको यो भनाइ र अहिलेको हाम्रो गराइबीच तालमेल खोज्यौं भने अवस्था छर्लङ्ग हुन्छ ।
यो भनाइले पत्रकारिताको मूल धर्म स्पष्ट पार्छ, सत्ता, शक्ति र प्रभावको पर्दा च्यातेर सत्य सार्वजनिक गर्नु । तर डिजिटल युगमा, जहाँ ‘पहिलो खबर’ दिने होड छ, त्यहाँ ‘सही खबर’ अक्सर पछि परिरहेको छ । क्लिक, भ्यु र सेयरको लालसाले कतिपय मिडियालाई सूचनाको व्यापारी बनाएको छ । अनि चर्को घाँटी च्यातिनेगरी कराउने, जहाँ भेट्यो त्यहीँ माइक वा क्यामेरा तेर्साउने र जे मुखमा आयो त्यही प्रश्न गर्नु नै पत्रकारिता हो भन्ने भाष्य बन्दै गएको छ । यस्तो भाष्यले पत्रकारितालाई अलोकप्रिय, गैह्र जिम्मेदार र ‘हावा’ अर्थात् अविश्वसनीय बनाउँदै लगेको छ ।
लोकतन्त्र अझै अभ्यासकै चरणमा रहेको हाम्रो जस्तो देशमा पत्रकारिताको भूमिका झनै संवेदनशील छ । यहाँ मिडियाले खबर दिएर मात्रै पुग्दैन, बरु विषयहरूको गाम्भीर्यता र परिपक्वता पस्कन सक्नु पर्दछ । तर यथार्थ के छ भने कतिपय अवस्थामा पत्रकारिता सत्ता नजिकिएको देखिन्छ, प्रश्न सोध्नेभन्दा पनि प्रसंशा गर्ने प्रवृत्ति बढ्दो छ । यस्तो अवस्थामा पत्रकारिता ‘वाचडग’ अर्थात् घरको पहरेदार होइन, ‘ल्यापडग’ अर्थात् काखमा खेलाउने ‘पुन्टे’ बन्ने खतरा छ । अनि अर्कोथरि चाहिँ ‘असनको साँढे’ भने जस्तो भएर मैमत्त हुनु पत्रकारिता हो भनी बुझ्ने पनि छन् ।
हो, नयाँ पुस्ता पत्रकारितामा ठूलो ऊर्जा र सम्भावना लिएर आएको छ । यो पुस्ताले प्रविधिमा दख्खल राख्छ, मल्टिमिडिया प्रयोग गर्न सक्छ र विश्वसँग सजिलै जोडिन सक्छ । तर यही पुस्ताले सबैभन्दा ठूलो जोखिम पनि बोकेको छ, सूचनाको भीडमा सत्य ‘टाढा छुटाउने’ जोखिम ।
अमेरिकी वरिष्ठ पत्रकार तथा कुटनीतिज्ञ हेनरी एनाटोल ग्रुण्वाल्डले भने झैं पत्रकारिता कहिल्यै मौन रहन सक्दैन; यही यसको सबैभन्दा ठूलो गुण हो र यही यसको सबैभन्दा ठूलो कमजोरी पनि हो । अहिले नयाँ पुस्ताले कमजोरीको पाटोमा मज्जैले उछाल ल्याएजस्तो देखिएको छ ।
बेलाबेलामा अत्यधिक बोल्ने क्रममा यसले सन्तुलन गुमाउन थालेको छ । यसका मूल्य, मान्यता, सिद्धान्त र आचारसंहिता पालना नहुँदा ‘एक्टिभिज्म जस्तो देखिने हिरोइज्म’ र ‘पत्रकारिता’ बीचको रेखा धमिलो बन्दैछ । डिजिटल युगले पत्रकारितालाई नयाँ औजार दिएको छ, डेटा, कृत्रिम बौद्धिकता (एआई), रियल–टाइम रिपोर्टिङ । तर यी औजारहरू नैतिकता बिना चलाइए भने ती सत्यको होइन, भ्रमको कारखाना बन्ने खतरा छ ।
भनिन्छ, पत्रकारिताले यदि आफ्नो मूल्य, सत्य, निष्पक्षता र उत्तरदायित्व त्याग्यो भने समाजले आफ्नो ऐना गुमाउँछ । र जब समाजले आफ्नो अनुहार देख्न छोड्छ, त्यतिबेला सबैतिर अँध्यारो पोतिएजस्तै हुन्छ । छिटो हुनुभन्दा सही हुनु र लोकप्रिय हुनु भन्दा विश्वसनीय हुनु शक्तिशाली हो । आजको मिडिया अभ्यासमा कन्टेन्टमा मात्र होइन, हाम्रो व्यवहारमा पनि समस्या बढ्दो छ ।
सत्य, तथ्य र सन्तुलित सूचना प्रवाह गर्नुको साटो केही सञ्चारकर्मी र युट्युबरहरूमा देखिएको सनसनीपूर्ण शैली, अतिरञ्जना र आफूलाई हिरो देखाउने प्रवृत्ति ‘उत्ताउलो हिरोइज्म’ ले यसको विश्वसनीयतामा गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।
बुम तेर्साएर तर्साउने, जहाँ पनि प्रसंग नहेरी सुरु हुने, अरूको समय र सम्मानलाई बेवास्ता गर्ने, यी व्यवहारहरू अब अपवाद होइनन्, क्रमशः ‘सामान्य’ बन्दैछन् । पत्रकारिता प्रश्न सोध्ने कला अवश्य हो । तर कस्तो प्रश्न, कहिले, कसरी भन्ने शिष्टता त्यत्तिकै महत्त्वपूर्ण छ । ‘जहाँ पनि सुरु हुने’ बानीले सन्देशभन्दा स्वर ठूलो बनाउला तर अन्ततः विश्वसनीयता सानो बनाउँछ ।
यसो हुनुका कारण छन् । छिटो प्रतिक्रिया दिने दबाब, चर्को आवाजलाई बढी ध्यान दिइने सोसल प्लेटफर्महरूको प्रभाव, सोध्नेभन्दा ‘देखिने’ चाहना बढी आदि । यसको सुधारका लागि ‘आस्क विथ रेस्पेक्ट’ सिद्धान्त ‘फलो’ गर्न जरुरी छ । प्रश्नअघि नम्रता, बीचमा स्पष्टता, अन्त्यमा कृतज्ञता अपरिहार्य छ । समयको अनुशासन जरुरी छ । अपोइन्टमेन्ट लिएर भेट्ने, छोटो र सटिक प्रश्न गर्ने, अनावश्यक विषयान्तर र स्वर उचाल्ने काम नगर्ने र धैर्यतापूर्वक सुन्ने सीप बढाउन जरुरी छ । चर्को आवाजले ध्यान तान्ला तर, चर्को तर्कले पेशागत संस्कार र विश्वास जित्छ । त्यसैले नयाँ पुस्ताको ऊर्जालाई शिष्टता र अनुशासनको फ्रेम चाहिएको छ ।
यसका साथै पत्रकार आफै ट्रेन्डको लहरमा बग्दा एल्गोरिदमलाई सेवा पुगिरहेको छ । न्यूजरूममा मेन्टरशिप घट्दो छ । फिल्ड र डेस्कमा तथ्य–जाँचको अभ्यास घट्दो छ । कन्टेन्ट छिटो पब्लिस गर्ने रेस जितिरहँदा यसलाई ‘भेरीफाई’ छिटो गर्ने धैर्यता र सीप नबढाउने हो भने विश्वसनीयताको रेस हार्दै जाने निश्चित छ ।
सत्य, तथ्य र सन्तुलित सूचना प्रवाह गर्नुको साटो केही सञ्चारकर्मी र युट्युबरहरूमा देखिएको सनसनीपूर्ण शैली, अतिरञ्जना र आफूलाई हिरो देखाउने प्रवृत्ति ‘उत्ताउलो हिरोइज्म’ ले यसको विश्वसनीयतामा गम्भीर प्रश्नचिह्न खडा गरेको छ । सनसनीपूर्ण प्रस्तुति, सत्यभन्दा पनि अडियन्स तान्नका लागि भ्रामक शीर्षक र अतिरञ्जित भाषाको प्रयोग, व्यक्तिको अनुमतिबिना व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने, गालीबेइज्जती गर्ने र विनाआधार चरित्रहत्या गर्ने प्रवृत्ति बढ्दो छ ।
‘व्यक्तिलाई ब्रान्ड’ बनाउने भन्दा पनि सिँगो पत्रकारिता क्षेत्र र संस्था ब्राण्डिङ गर्ने साझा दायित्व हुनु पर्नेमा हरेक मिडियाकर्मीलाई आफू मात्र ‘हिरो’ हुनु परेको छ । यसले क्षणिक रूपमा व्यक्तिलाई शक्तिशाली जस्तो बनाउला पनि । तर, यो ताकतको सदुपयोग गरेर अघि बढ्ने कि दुरुपयोग गरेर सकिने ? छनोट हामी आफैले गर्ने हो ।