यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट

काठमाडौं । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि दुई अर्ब २६ करोड रुपैयाँको बजेट पारित गरेको छ । 

सूर्यविनायकमा बुधबार (आज) सम्पन्न २० औं नगरसभाको अधिवेशनले पुँजीगत खर्चतर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् एक अर्ब २९ करोड १४ लाख १८ हजार रूपैयाँ र चालु खर्चतर्फ ४२ दशमलव ८५ प्रतिशत अर्थात् ९६ करोड ८५ लाख ८२ हजारको बजेट सभाले पारित गरेको हो ।
    
आज सम्पन्न नगर सभामा उपप्रमुख सरिता तिम्सिना भट्टराईले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट समानीकरण, राजस्व बाँडफाँट, समपूरक तथा सशर्त अनुदानमार्फत ६९ करोड ३१ हजार ३१६ रुपैयाँ र प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँट, समपूरक, सशर्त तथा विशेष अनुदानमार्फत ५९ करोड ६० लाख ९७ हजार ७०८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक स्रोतबाट रु ९७ करोड ३८ लाख ७० हजार ९७५ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
    
नगरले आगामी आर्थिक वर्षका लागि पाँच प्रमुख प्राथमिकता निर्धारण गर्दै सहरी पूर्वाधार विस्तार, गुणस्तर सुधार तथा नगर सौन्दर्य प्रवद्र्धन, आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण र विस्तार, सामुदायिक शिक्षाको पूर्वाधार विकास तथा गुणस्तर अभिवृद्धि, प्राविधिक तथा सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जना र सूचना प्रविधिको व्यापक विस्तारमार्फत संस्थागत सुशासन प्रवद्र्धन गर्ने भएको छ ।  

यसअघि नगर प्रमुख वासुदेव थापाले प्रस्तुत गरेको नीति, कार्यक्रम पनि सभाले पारित गरेको छ । त्यस्तै, भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि दुई अर्ब ५५ करोड बजेट विनियोजन सार्वजनिक गरेको छ । 
    
भक्तपुर नगरपालिकाको २० औं नगरसभाको बैठकमा आज उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्दै नगरपालिकाको आन्तरिक स्रोत, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने उक्त बजेट प्रस्तुत गरिन् । 
    
विनियोजित बजेटको चालुतर्फ एक अर्ब ५५ करोड ८९ लाख रुपैयाँ अर्थात् ६१.१३ प्रतिशत र पुँजीगततर्फ ९३ करोड ३१ लाख रुपैयाँ अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ रुपैयाँ पाँच करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको उपप्रमुख जोशीले बताइन् । 
    
बजेट वक्तव्यमा विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । 

नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सेवा विस्तार एवं उपकरण खरिदका लागि कूल २३ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका समग्र कार्यक्रमका लागि ३५ करोड ६४ लाख रुपैयाँ अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरिएको छ । 
    
नगरपालिकाले सम्पदा पुनर्निर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष कूल सात करोड ९० लाख रुपैयाँ, भौतिक पूर्वाधार निर्माणमा ३५ करोड अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रवद्र्धन गर्न कूल तीन करोड ८० लाख रुपैयाँ, वातावरण सुधार तथा फोहरमैला व्यवस्थापन शीर्षकमा २३ करोड १५ लाख ८० हजार रुपैयाँ, खेलकुद विकास र पूर्वाधार निर्माणमा तीन करोड ७५ लाख रुपैयाँ, विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुनःस्थापनाका लागि ‘प्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाउन रु ४० लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी चाँगुनारायण नगरपालिकाले आजदेखि सुरु भएको १८ औं नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि दुई अर्ब चार करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

आज बसेको नगरसभाको १८ औं नगरसभामा उपप्रमुख रमेश बुढाथोकीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाले विभिन्न दस्तुरबापत ३४ करोड छ लाख २० हजार, सवारीसाधनको राजस्वबाट आठ करोड २२ लाख रुपैयाँ र घरजग्गा रजिष्ट्रेशनबाट ८६ करोड आन्तरिक आय हुने अनुमान गरिएको छ ।
    
नगरपालिकालाई सङ्घीय सरकारबाट १६ करोड ३७ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ करोड ४१ लाख ९१ हजार रुपैयाँ तथा सशर्त अनुदानमार्फत ५५ लाख रुपैयाँ र विशेष अनुदानबापत तीन करोड रुपैयाँ विनियोजन भएकोमा यस आवमा एक करोड ५० लाख रुपैयाँ प्राप्त भएको उनले बताए । 
     
त्यस्तै, बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत एक करोड ४९ लाख ९७ हजार रुपैयाँ, सशर्त अुनदानमार्फत तीन करोड ५१ लाख २५ हजार तथा विशेष अनुदानमार्फत ७० लाख रुपैयाँ प्राप्त भएको सभामा जानकारी  दिएको छ ।

सभामा उनले आव २०८३/०८४ को नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेको थियो भने बजेट तथा नीति तथा कार्यक्रम असार २८ गते बस्ने अर्को नगरसभाको बैठकले पारित गर्ने उपप्रमुख बुढाथोकीले बताए​​​​​​​ । 

Share News