काठमाडौं । काठमाडौं उपत्यकामा रहेका डान्सबार र दोहोरीबाट निस्केर मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २९ वर्षीय राजकुमार परियार, २० वर्षीय अनिल योञ्जन, २८ वर्षीय पञ्चलाल ब्लोन, २४ वर्षीय सबिन भुलन र ३३ वर्षीय इन्द्रबहादुर वाइबा पक्राउ परेका हुन् ।
उनीहरूले काठमाण्डौंमा रातको समयमा घर, पसल तथा रेष्टुरेन्ट अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार उनीहरूले राती दोहोरी तथा डान्सवार जाने र बन्द भएपश्चात निस्की आसपास घर तथा होटेल अगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने गर्थे।
‘मोटरसाइकल चोरी गरेर मोटरसाइकल सर्लाही, रौतहट, मकवानपुर लगेर २५ देखी ३० हजार सम्म विक्री गर्ने गर्थे,’ खडकाले भने । उनीहरूको साथबाट केटीएम डयुक एक थान, बजाज पल्सर ४ र रोयल इन्फिल्ड १ थान रहेको छ ।
उनका अनुसार परियारविरुद्ध विभिन्न ठाउँका प्रहरी कार्यालयमा ९ पटक मुद्दा दर्ता भइसकेको छ । भुलनविरुद्ध पनि विभिन्न ठाउँमा प्रहरी कार्यालयमा तीन पटक मुद्दा दर्ता भइसकेको छ ।
ब्लोन भने गत भदौ २४ गतेको जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार भएका थिए । उनीहरू यसअघि पनि काठमाडाैं उपत्यकाको विभिन्न स्थानमा मोटरसाइकल चोरी घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए ।