विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ?

कृष्णा पौडेल

उत्तरी अमेरिकी राष्ट्रमा फुटबलको महाकुम्भ मेला फिफा विश्वकपले विश्वकै ध्यान आकर्षित गरिरहेको छ । विश्वकपमा ४८ देशका १ हजार २ सय ४८  खेलाडीको प्रत्यक्ष सहभागिता रह्यो । सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिने फिफा विश्वकपमा विशेष त युवा वर्ग बढी आकर्षित छन् । विश्वभरका खेलाडीहरू हरेक युवाका आइकन पनि हुन् । 

विश्वकप फुटबलजस्तै अर्को चासोको विषय हो, जलवायु परिवर्तन । पृथ्वीको तापक्रम वृद्धिसँगै विश्वभरनै जलवायु जन्य विपद्का घटना बढ्दै गइरहेका बेला यो अभियानमा युवाहरुको सहभागीतालाई महत्वपूर्ण खम्बाको रुपमा हेरिएको छ । जलवायु परिवर्तनका अलराउण्डरका रूपमा युवालाई अघि बढाउनुपर्छ भन्ने अवधारणाअनुसार जलवायु कार्यमा कार्यरत संघसंस्था वर्गलाई प्राथमिकता दिएको पाइन्छ । अलराउण्ड भनेको सबै क्षेत्र र रणनीतिमा आफूलाई तयार बनाउनु हो । 

विश्वकप फुटबलका हरेक खेल र गोलमा चासो राखे जस्तै जलवायु कार्यमा पनि युवाको चासो आवश्यक छ । यसै सन्र्दभमा काठमाडौंमा जलवायु कार्य, विश्वकप र युवा सहभागीता विषयक कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी युवाहरुले फुटबल मैदानको रणनीतिलाई विश्व जलवायु कार्यसँग तुलना गरेर रोचक प्रश्तुती गरे ।

फुटबलको मैदानमा खेलाडीको भुमिका जस्तै विश्व जलवायु कार्यको मैदानमा त्यसका सरोकारवालाको भुमिका जोडेर गरिएको युवासमुहको प्रश्तुती प्रभावकारी र सिर्जनात्मक थियो । फुटबलको मैदानमा रक्षापंक्ति, मिडफिल्ड र फरवार्ड गरी तीन पक्षको महत्वपूर्ण भुमिका रहने गर्दछ । त्यसैगरी जलवायु कार्यका लागि पनि सरकार, विभिन्न अन्तर्राष्ट्रिय निकाय र संघसंस्थाले फरकफरक भुमिका निर्वाह गरिरहेका हुन्छन् । यी सरोकार पक्षको प्रत्यक्ष अनि प्रभावकारी सहभागितामा मात्र जलवायु कार्यमा सफलता मिल्छ ।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दैै आएको प्रकृति रिसोर्सेस सेन्टरले गरेको कार्यक्रममा सहभागी युवाहरुले जलवायु कार्यका लागि रक्षापंक्ति, मिडफिल्ड, फरवार्ड एवं गोलकिपरको रुपमा विभिन्न संस्थाहरुलाई राखेर जलवायु परिवर्तनको विश्वव्यापी असरलाई नजरअन्दाज नगर्न चेतावनी दिए । पेरिस सम्झौतासँगै जलवायुकार्यका विभिन्न कोषहरुबाट अलग रहेको अमेरिकालाई जिम्मेवारीबाट बाहिर गएमा पराजित हुनुपर्ने सन्देश पनि दिए । एउटा समूहकी सहभागीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोलकिपरका रूपमा राखेर डिफेन्डर, मिडफिल्डर र फरवार्ड लाइनमा राम्रो संयोजन गर्दै गोल गरेर ढाल्ने प्रश्तुती दिइन् । 

विभिन्न समूहमा रहेका युवाहरूले सबै सरोकारवालालाई जलवायु कार्यका खेलाडीको रुपमा परिभाषित गर्दै जलवायु कार्यको रणनीतिक मैदानमा चित्रण गरेका थिए । केहीले कार्बन उत्सर्जनमा महत्वपूर्ण भुमिका खेलेका देशलाई बढी जिम्मेवार हुनुपर्नेमा जोड दिँदै मुख्य भुमिकामा राखे । केही युवाले आन्तरिक तयारीलाई प्राथमिकतामा राखि सबै सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, समुदाय लगायतलाई क्षमता र कार्यप्रकृतिअनुसारको भुमिकामा राखे । 

जलवायु कार्यमा कसरी गोल गर्न सकिन्छ ? अर्थात् जलवायु परिवर्तनमा कसको भुमिका कस्तो स्थानमा रहने ? केन्द्रिय सरकारको भुमिका कस्तो हुने ? नागरिक समाज, समाजिक संस्था, युवा र अन्तर्राष्ट्रिय निकायलाई पनि खेलाडीको रुपमा प्रश्तुत गरियो । सरकारको भुमिका फरवार्ड लाइनमा राखि जलवायु कार्यमा गोल हान्न सफल बनाउने ढंगको प्रश्तुती पनि युवाहरुले गरे । केही युवाले मिडफिल्डमा नीति निर्माण सम्बन्धि काम गर्ने संस्थालाई राखी समुदाय र अनुसन्धानकर्तालाई स्ट्राइकर बनाएर गोल हान्ने वातावरणको सिर्जना गरे । 

संयुक्त राष्ट्र संघ (युएन) मा १ सय ९५ राष्ट्र आवद्ध छन् । तर विश्व फुटबल महासंघ (फिफा)मा २ सय १२ राष्ट्र सदस्य छन् । प्रकृति रिसोर्सेस सेन्टरका कार्यक्रम व्यवस्थापक सन्तकुमार महर्जनले विश्वकपमा सहभागी हरेक राष्ट्रलाई क्लाइमेट एक्टरको रूपमा अगाडि बढाउन सके विश्वभर नै सकारात्मक सन्देश जाने उल्लेख गरे ।

संघीय, प्रादेशिक र स्थानीय सरकार, वित्तीय संस्था, समुदाय लगायत सरोकारवालाले महत्व र भुमिकाका आधारमा फुटबल मैदानका खेलाडीले जस्तै भुमिका निर्वाह गरे जलवायु कार्यमा सफलता प्राप्त गर्न सकिने उनको धारणा थियो ।  

क्लाइमेट एक्टरको भुमिका स्पष्ट गर्नसक्दा मात्रै पनि जलवायुकार्यमा धेरै काम गर्न सकिने तर्क सहभागीको थियो । कार्यक्रममा सहभागी युवाहरुले आफ्नो मनपर्ने देशको जर्सी लगाएर फुटबल खेल्नुको साथै ती देशलाई जलवायु सन्देश पनि दिएका थिए । प्रकृति रिसोर्सेस सेन्टरकी कार्यक्रम संयोजक प्रज्ञा शेरचनले फुबटलको माध्यमबाट युवा जलवायु अभियन्तामार्फत विश्वका नेताहरूलाई जलवायु कार्यबाट बाहेक हुन नहुने सन्देश दिने प्रयास गरिएको बताए । 

कार्यक्रममार्फत युवाहरुले संयुक्तराष्ट्रसंघीय जलवायु महासन्धिका सदस्य राष्ट्रहरुले कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउन लिएको लक्ष्य हासिल गर्न जिम्मेवार बन्न र विश्वकप फुटबलको आयोजक फिफालाई जलवायुमैत्री प्रतियोगिता बनाउनुपर्ने सन्देश दिएका थिए । 

जलवायु परिवर्तन सम्बन्धी सयुक्त राष्ट्रसंघ महासन्धिका सदस्य राष्ट्रहरुको दुबईमा भएको २८ औँ विश्व जलवायु सम्मेलनले यो सताब्दीको मध्येसम्म विश्वमै कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउने लक्ष्य निर्धारण गरेको थियो । विश्वमै बढी कार्बन उत्सर्जन गर्ने देश चीनले विश्वको कुल कार्बन उत्सर्जनको करिव ३३ प्रतिशत हिस्सा ओगटेको छ । चीनले सन् २०६० सम्म कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउने लक्ष्य लिएको छ ।

त्यसैगरी विश्वको कुल उत्सर्जनको ११ प्रतिशत हिस्सा ओगटेर दोस्रो स्थानमा रहेको मुलुक अमेरिकाले कुनैपनि लक्ष्य निर्धारण गरेको छैन । उसले जलवायु कार्यलाई नै वहिष्कार गरेको स्थिति छ । विश्वको कुल कार्बन उत्सर्जनको करिव ८ प्रतिशत हिस्सा ओगटेको भारतले सन् २०७० सम्म नेट जिरोमा पुग्ने लक्ष्य लिएको छ । युरोपले लिएको लक्ष्य सकारात्मक रुपमा अघि बढेको छ । कार्बन उत्सर्जन घटाउने सिद्धान्त अनुसारका भौतिक पूर्वाधारहरु निर्माण भएका छन् । पछिल्लो समयमा चर्किंदै गएको द्वन्द्वका कारण लक्ष्य प्राप्तिको मार्गमा केही अवरोध हुने देखिएपनि युरोप आफ्नो लक्ष्य प्राप्तिको दिशामा अघि बढेको देखिन्छ । 

फिफाले सन् २०३३ देखि २६ सम्मको बजेट ११ अर्ब डलर घोषणा गरेको थियो । यति ठूलो बजेट र प्रतियोगिताले उत्सर्जन गर्ने कार्बनको परिमाण कति हो ? त्यसले वहन गर्नुपर्ने जलवायु दायित्व कति हो ? कूल बजेटको कति प्रतिशत उत्सर्जन न्युनिकरणमा छुट्याउनुपर्छ ? ग्लोबल कार्बन एकाउन्टिङ प्लेटफर्म (ग्रीनली) काअनुसार यो प्रतियोगिता सञ्चालनका क्रममा लगभग ७७ लाख ६७ हजार ५ सय ४३ टक कार्बन उत्सर्जन हुनेछ । ग्रीनलीले दर्शकको यात्रा, होटल तथा आवास, शहरभित्रको यातायात, खाना, रंगशाला सञ्चालन, टिम तथा खेलाडीहरुको यात्रा लगायत शिर्षकमा छुट्टा छुट्टै उत्सर्जन परिमाण प्रक्षेपण गरेको छ । 

अहिले विश्वकप खेलाइएका १३ रंगशालाले विश्वकै प्रतिष्ठित हरित भवन मूल्यांकन प्रणाली ‘एलइइडी’को प्रमाणपत्र प्राप्त गरेका छन् । हरित भवन प्रविधिले विश्वकप २०२२ को तुलनामा रंगशालाबाट निस्कने उत्सर्जन घटेपनि अहिले खेलहरु भइरहेका स्थानको दूरी लामो भएका कारण सबै भन्दा बढी उत्सर्जन दर्शकहरुको यातायातबाट भएको छ । यसले सन् २०२२ को ३६ लाख टनलाई दुई गुणा बढाएर झन्डै ७८ लाख टन उत्सर्जन पुर्याएको हो । यद्यपि आयोजक राष्ट्रबाट केही राम्रा अभ्यास भने भएका छन् । फुटबल समर्थकले प्रयोग गर्ने हरेक पर्चा, पम्पलेटमा प्लास्टिकको प्रयोग निषेध गरिएको छ ।

विद्युतीय सवारी साधन प्रयोगमा जोड दिइएको छ । फिफाले हरेक प्रतियोगिताबाट उत्सर्जन गरेको कार्बनको परिमाणको तुलनामा उत्सर्जन कम गर्न गरेको प्रयास नगन्य छ । यसको मतलव विश्वकपका दर्शकहरुलाई निषेध गर्नु वा यो उत्साहको घेरालाई साँघुरो बनाउनु भन्ने होइन । सवाल वातावरणीय लागत स्वीकारको हो । फिफाले जलवायु कार्यका लागि कति खर्च गरेको छ भन्ने विश्लेषण हुनु जरुरी छ । ठूला कार्यक्रममा हुने कार्बन उत्सर्जनको मापन गरी न्युनिकरणका लागि लगानी गर्न आवश्यक छ । 

यस्ता इभेन्टलाई नेट निजोको अवधारणामा कसरी कार्यान्वयन गर्ने, उत्सर्जन घटाउन आयोजकले के गर्ने भन्नेमा प्रभावकारी बहस गरिनुपर्छ ।  विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? के २०३० को विश्वकप नेट जिरो हुन्छ त ? कहिलेदेखि फिफाले नेट जिरोको अवधारणाबाट प्रतियोगिता सञ्चालन गर्नसक्छ ? यस्ता सवालमा व्यापक छलफल आवश्यक छ ।   

Share News