काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई थप सशक्त बनाउन विशेष अनुगमन टोली परिचालन गरेको छ ।
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सशस्त्र प्रहरी वरिष्ठ परीक्षकहरूको नेतृत्वमा फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्न सक्ने अधिकार सहितको विशेष अनुगमन टोली परिचालन भएको जानकारी दिएका हुन् ।
शुक्रबार (आज )सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट मातहत युनिटका प्रमुखहरूलाई ब्रिफिङ गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले कुनै पनि प्रकारको भ्रष्टाचार, आर्थिक अनियमितता वा अनुचित प्रभावलाई शून्य सहनशीलताको नीति अनुसार काम गरिने बताए ।
शून्य सहनशीलताको नीतिअनुसार पालना नगरेको भेटिएमा जुनसुकै तहका कमाण्डरहरू तथा दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु माथि छानविन गरी आवश्यक कारवाही गरिने चेतावनीसमेत उनले दिए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले भन्सार छली, अवैध आयात–निर्यात तथा राजस्व चुहावट हुने सम्भावित नाकाहरूमा सबै सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट तथा फरवार्ड पोष्टहरूले २४सै घण्टा निगरानी कायम राख्ने व्यवस्था गरी तस्करी नियन्त्रण तथा सीमा क्षेत्रबाट हुने अवैध निकासी पैठारीलाई पूर्णतया रोक्न कमाण्डरहरूलाई निर्देशन दिए ।
उनले सीमापार समकक्षी तथा सरोकारवाला सम्बन्धित निकायहरुबाट समेत सूचना लिई काम गर्न सकियो भने सीमामा संचालन गरिने अपरेशनल गतिविधिहरुमा थप सहजता आउने उल्लेख गरे ।
त्यस्तै, उनले खुला तथा संवेदनशील सीमा क्षेत्रको जोखिम विश्लेषण गरी गस्ती, मोबाइल पेट्रोलिङ तथा चेकिङलाई थप गरी प्रभावकारी बनाउन समेत निर्देशन दिए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले आर्थिक विधेयक, २०८३ मा समेत नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यवसायिक फोर्सको रुपमा विकास गर्ने भनेर सम्वोधन गरेको उल्लेख गरे ।
उनले कुनैपनि बिषयमा सशस्त्र प्रहरी कर्मचारीहरू विवादको कारक नभई कानून बमोजिम निष्पक्ष र पारदर्शी ढंगले कार्य गर्नुपर्ने जनाउँदै यस्ता कार्यमा वाहिनीपतिहरूले आफ्नो मातहत कार्यालयहरुको निरन्तर रुपमा अनुगमन गर्दै कार्यक्षेत्रमा हुनेसक्ने गल्ती कमजोरीलाई समयमा नै आँकलन गरी समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए।
दाहालले मुख्यालयले सशस्त्र प्रहरी कर्मचारीहरुको जनशक्ति व्यवस्थापनमा समेत विशेष ध्यान दिएको र सोही अनुरूप लामो समयदेखि एउटै सीमावर्ती जिल्लामा कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रै अन्यत्र युनिटहरूमा परस्पर सरुवा गर्न र व्यावसायिक आचरण विपरित काम गर्नेहरूलाई वाहिनी तहमा नै करेक्सन ट्रेनिङ संचालन गर्न वाहिनीपतिहरुलाई निर्देशन दिए ।
सोही अवसरमा उनले मनसुनको समय शुरु भएको हुँदा विगतका बाढी–पहिरो तथा डुवानमा परेका क्षेत्रहरुको पहिचान गरी आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडामगर, अञ्जनी कुमार पोखरेल लगायत सशस्त्र प्रहरी बल नेपाल उच्च अधिकृतका साथै भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण वाहिनीपति, गणपति, गुल्मपति, बिओपी तथा बेश कमाण्डरहरू सहभागी रहेका थिए ।