काठमाडौं । शाओमी ब्रान्डको काठमाडौं क्षेत्रका लागि आधिकारिक वितरक वत्सल इम्पेक्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले बढी हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५८ प्रतिशत अर्थात् २२ करोड ९० लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी ४ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
कम्पनीका अनुसार आव २०७९/८० मा ३ अर्ब ३३ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ५ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ, आव २०७६/७८ मा २ अर्ब १३ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब १६ करोड ५० लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ७ करोड ३० लाख रुपैयाँ र आव २०७३/७४ मा ७१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको कुल आम्दानीमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा अझै पनि शाओमी ब्रान्डका मोबाइल फोन तथा सहायक सामग्रीको बिक्रीबाट आउने गरेको छ । यसले कम्पनीको आम्दानी संरचना शाओमी उत्पादनमै बढी निर्भर रहेको देखाउँछ ।
सन् २०१२ मा स्थापना भएको वत्सल इम्पेक्स काठमाडौं क्षेत्रका लागि शाओमी स्मार्टफोनको आधिकारिक वितरक हो । नेपालमा स्मार्टफोनमा शाओमीको बलियो उपस्थिति रहेको छ भने सबैभन्दा धेरै आयात हुने स्मार्टफोन ब्रान्डमध्ये एक मानिन्छ । कम्पनीले इजभिजका सुरक्षा क्यामेरा तथा सम्बन्धित उत्पादनहरू पनि नेपालभर वितरण गर्दै आएको छ ।
कम्पनीको दर्ता कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ । सन् २०२६ को अप्रिल मध्यसम्म कम्पनीको बिक्री सञ्जालअन्तर्गत १४ डिलर र करिब ५०० खुद्रा विक्रेता रहेका छन् ।
वत्सल इम्पेक्स शारदा समूहअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । शारदा समूहले नेपालमा उत्पादन, व्यापार, बैंकिङ तथा आवासलगायत विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेको छ । हाल कम्पनीको सेयर स्वामित्व ६ जना व्यक्तिमा रहेको छ, जसमध्ये ५ जना शारदा परिवारसँग सम्बन्धित छन् । कम्पनीका अध्यक्ष बिनित कुमार शारदा हुन् भने नितेश कुमार मुन्द्रा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् ।
कम्पनी सन् २०१२ देखि स्मार्टफोन वितरण व्यवसायमा सक्रिय छ । सुरुआती चरणमा यसले भिडियोकोन र पर्पल ब्रान्डका मोबाइल फोन वितरण गर्दै आएको थियो । पछि शाओमीसँग नयाँ वितरण सम्झौता भएपछि ती ब्रान्डको वितरण बन्द गरिएको थियो ।
यद्यपि, कम्पनीका लागि केही चुनौती पनि देखिएका छन्। भारतसँगको खुला सीमाका कारण नेपाली बजारमा अनियन्त्रित ‘ग्रे मार्केट’ मार्फत मोबाइल फोन बिक्री हुने अवस्था अझै कायम छ । यस्तो अनौपचारिक बजारले आधिकारिक वितरकको व्यापार, मूल्य प्रतिस्पर्धा र बजार हिस्सामा असर पार्न सक्ने भएकाले यसलाई कम्पनीका लागि जोखिमपूर्ण पक्षका रूपमा हेरिएको छ । यसैबीच, कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको जनाएको छ ।