जेनजी आन्दोलनमा फरार २२ वर्ष कैद सजाय पाएका कैदी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागारबाट फरार भएका २२ वर्ष कैद सजाय भोगिरहेका एक कैदी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लागुऔषध मुद्दामा २२ वर्ष कैद सजाय भोगिरहेका धादिङको गजुरी गाउँपालिका–८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान बस्दै आएका ४२ वर्षीय दर्जबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ ।

तामाङ २०७४ असोज २३ गते पक्राउ परेका थिए । त्यसपछि २०७४ मंसिर २८ गतेदेखि जगन्नाथदेवल कारागारमा कैद सजाय भोगिरहेका उनी २०८२ भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

सीआईबीका अनुसार फरार भएपछि उनी काठमाडौं उपत्यकामा लुकीछिपी बस्दै आएका थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार गोकर्णेश्वर–३ सुन्ताखानबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ । 

Share News