काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र छिटो बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग नागरिक एप इन्टिग्रेसनसम्बन्धी सम्झौता गरेको छ।
बैंकका अनुसार नयाँ सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ फाराम सहजै भर्न सक्नेछन् । यसबाट व्यक्तिगत विवरण पटक–पटक हातैले प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया कम भई बैंकिङ सेवा अझ छिटो र प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकको गोपनीयता र व्यक्तिगत विवरणको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । ग्राहकले नागरिक एपमार्फत अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको बैंकको भनाइ छ । साथै, प्राप्त जानकारी जुन प्रयोजनका लागि मागिएको हो, त्यसका लागि मात्रै प्रयोग गरिने उल्लेख गरिएको छ ।
एनएमबि बैंकका अनुसार देशमा विस्तार हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र झन्झटरहित बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो सहकार्य गरिएको हो । बैंकले यसलाई नेपालभरका नागरिकलाई अझ प्रभावकारी डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।