माइतीघर डुबानको कारण पत्ता लगाउन सुनिता डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रमा हुने डुबानको प्राविधिक कारण पहिचान गरी विस्तृत प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएकी छन् ।

मंगलबार डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौं तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीलाई यथाशीघ्र प्रतिवेदन तयार गर्न निर्देशन दिएकी हुन् ।

अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका अधिकारीको सहभागिता रहेको थियो ।

स्थलगत अनुगमनका क्रममा डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख सुवोध देवकोटाले माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल रहे पनि निकास हुने स्थानमा ६० सेन्टिमिटरको मात्रै ढल रहेकाले पानीको बहावमा समस्या देखिएको प्रारम्भिक जानकारी दिएका थिए ।

उनका अनुसार माइतीघर मण्डला आसपास भवन तथा अन्य संरचना निर्माणका क्रममा ढल निकास प्रणालीमा अवरोध सिर्जना भएकाले त्यस्ता अवरोध हटाउन आवश्यक छ ।

कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा पूर्वाधार निर्माण र सेवा प्रवाहसँग सम्बन्धित निकायसँग समन्वय गरी माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा रहेका सबै अवरोध हटाई डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Share News