कार्यकाल सुरु हुनुअघि नै रद्द भयो बिष्टको पुनर्नियुक्ति, निमित्त सीईओमा चौलागाईं

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्रसिंह बिष्टलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय सात दिनमै रद्द गरेको छ । कम्पनीले नयाँ सीईओ नियुक्त नभएसम्म कायममुकायम नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

संस्थाको साउन ६ गते बिहान बसेको सञ्चालक समितिको ४८८औँ बैठकले असार ३१ गते बसेको ४८७औँ बैठकबाट गरिएको बिष्टको चारवर्षे दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्ने निर्णय तथा त्यसका आधारमा गरिएको करार सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

संस्थाका अनुसार हालका प्रमुख कार्यकारी अधिकृत बिष्टले आफ्नो वर्तमान कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म पूर्ववत् रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

त्यसपछि साउन ९ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म संस्थाका कायममुकायम नायब महाप्रबन्धक चौलागाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरिएको छ ।  

Share News