सडक निर्माणमा ८ लाख अनियमितता, १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी फागोटी ग्रामीण सडक निर्माणका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजनाअन्तर्गत वास्तविकभन्दा बढी काम भएको देखाई झुट्टा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तथा बिल–भरपाई तयार गरी ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बढी भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारका अनुसार कार्यसम्पन्न प्रतिवेदनमा एक हजार २०० घनमिटर ग्याबिन जालीसहित ढुङ्गा भरिएको उल्लेख गरिए पनि स्थलगत नापजाँचमा ९३९ दशमलव ५० घनमिटर मात्र काम भएको पाइएको थियो । अर्थात् २६० दशमलव ५० घनमिटर कम काम गरेर पनि बढी भुक्तानी लिएको आयोगको निष्कर्ष छ ।

यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, तत्कालीन लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, तत्कालीन सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह विरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो, कैद र जरिवानाको मागदाबी गरिएको छ ।

यस्तै, तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बम तथा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमलबहादुर बम विरुद्ध पनि भ्रष्टाचारमा मतियार बनेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Share News