लामो समयदेखि प्रतीक्षा गरिएको नागढुंगा सुरुङमार्ग साउन ११ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । हाल भौतिक पूर्वाधार निर्माणको काम सकिएसँगै सञ्चालनको अन्तिम तयारी भइरहेको छ । सुरुङमार्गको सञ्चालनको जिम्मा पाएको चिनियाँ र नेपाली निर्माण कम्पनीको संयुक्त टोली युसिन एआरटी जेभीले प्राविधिक जडान र सञ्चालनको अन्तिम तयारी तीव्र रुपमा गरिरहेको छ । विशेषगरी सुरुङमार्गको सञ्चालन, व्यवस्थापन, सुरक्षा, चुनौती र प्राविधिक पक्षबारे युसियन एआरटी टोलीका नेपाली प्रतिनिधि तथा सेफ्टी म्यानेजमेन्ट डेपुटी लिडर कविराज श्रेष्ठसँग विकासन्युजका लागि नरेन्द्र विष्टले कुराकानी गरेका छन् ।
सुरुङमार्ग सञ्चालनको सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा भएको हो ?
हो, आगामी साउन ११ गते अर्थात् जुलाई २७ बाट नागढुङ्गा सुरुङमार्गलाई सञ्चालनमा ल्याउन सरकारको निर्देशन छ । त्यही निर्देशनअनुसार हामीले विभिन्न चरणका प्राविधिक परीक्षणहरू, कर्मचारीको तालिम र सुरक्षा पूर्वाधारको तयारी गरिरहेका छौं । अहिले हामी अन्तिम चरणको अभ्यासमा जुटेकका छौं । हामी सञ्चालनका लागि पूर्ण रूपमा तयार भइसकेका छौं । यो नेपालको लागि गौरवको आयोजना मात्र नभएर इन्जिनियरिङ क्षेत्रको एउटा ठुलो फड्को पनि हो ।
सवारी चालकले सुरुङमार्गभित्र प्रवेश गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमहरू के–के हुन् ?
सुरुङमार्गको सुरक्षा व्यवस्था अत्यन्तै संवेदनशील र प्रविधियुक्त हुन्छ । त्यसैले चालकले केही नियमहरू कडाइका साथ पालना गर्नुपर्ने हुन्छ । पहिलो, सुरुङमार्गको इस्ट पोर्टल अर्थात् काठमाडौं तर्फ वा वेस्ट पोर्टल (धादिङ तर्फ) मा प्रवेश गर्नेबित्तिकै चालकले तोकिएको गतिको सीमा पालना गर्नुपर्छ । दोस्रो, सुरुङमार्गभित्र छिर्नु अगाडि नै आफ्नो सवारीको हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्छ । साथै सुरक्षाका लागि इमर्जेन्सी लाइट पनि बाल्नुपर्ने हुन्छ ।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण नियम भनेको सुरुङमार्गभित्र कहिल्यै पनि ओभरटेक गर्न पाइँदैन । एउटा गाडीले अर्को गाडीलाई उछिन्न खोज्दा ठुलो दुर्घटना हुन सक्छ । सुरुङमार्गभित्र गाडी रोक्न शख्त निषेध छ ।
अत्यन्तै आपत्कालीन अवस्था बाहेक गाडी रोक्न पाइँदैन । यदि गाडी बिग्रिएमा पनि त्यसको लागि निश्चित स्टप स्पट र उद्धार टोलीको व्यवस्था गरिएको छ ।
यात्रु र चालकहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
हाम्रो सन्देश भनेको सजग र अनुशासित हुनुहोस् भन्ने नै हो । हामीसँग सुरुङमार्गमा अत्याधुनिक कन्ट्रोल रुम छ । प्रत्येक मिटरको गतिविधि हामी मोनिटर गरिरहेका हुन्छौं । सुरुङभित्र ठुला–ठुला स्पिकरहरू जडान गरिएका छन् । यदि कुनै चालकले नियम उल्लंघन गरेमा वा असुरक्षित गतिविधि गरेमा हामी कन्ट्रोल रुमबाटै माइक मार्फत निर्देशन दिन्छौं ।
जुन चालकले आफ्नो सिटमै बसेर स्पष्ट सुन्न सक्छ । त्यसैले ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न हामी सबैमा अपिल गर्दछौं ।
सबै प्रकारका सवारी साधन सुरुङमार्गमा जान पाउँछन् कि केही प्रतिबन्धहरू पनि छन् ?
सुरुङमार्गको संवेदनशीलतालाई हेरेर केही सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । सरकार र सडक विभागको निर्णय अनुसार अहिलेलाई दुईपाङ्ग्रे (मोटरसाइकल/स्कुटर) र तीनपाङ्ग्रे (अटो रिक्सा आदि) सवारी साधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ ।
यसैगरी, ग्यासका बुलेटहरू, प्रज्वलनशील केमिकल बोकेका गाडीहरू र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरूलाई पनि सुरक्षाका कारण सुरुङभित्र जान दिइने छैन । धेरै उचाइ भएका र बढी भार भएका सवारी साधनका साथै चौपाया बोकेका गाडीहरूलाई पनि प्रवेश निषेध गरिएको छ । यस्ता सवारी साधनहरू पुरानै साविकको बाटो भएर जानुपर्ने हुन्छ ।
गाडीको गतिको सीमा कति निर्धारण गरिएको छ ?
सामान्यतया हामीले सुरुमा प्रति घण्टा ४० किलोमिटरको सीमा राख्ने सोच बनाएका छौं । तर, सुरुको एक/दुई हप्ता यात्रु र चालकलाई बानी नपरुन्जेलसम्मका लागि प्रति घण्टा ३० किलोमिटरको गतिको सीमा तोक्ने विषयमा हाम्रो सेफ्टी युनिटले छलफल गरिरहेको छ । बिस्तारै मानिसहरू अभ्यस्त भएपछि यसलाई समायोजन गर्न सकिन्छ ।
यो सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिने नागढुङ्गाको उकालो र जाममा कत्तिको राहत मिल्छ ? समयको बचत कति होला ?
यो सुरुङमार्गको सबैभन्दा ठुलो फाइदा नै समय र इन्धनको बचत हो । साविकको बाटोबाट जाँदा नौबिसेदेखि थानकोटसम्म उकालो, घुम्ती र जामका कारण सामान्य अवस्थामा पनि ४५ मिनेट देखि १ घण्टा लाग्ने गर्छ । जाम हुँदा त ३/४ घण्टासम्म पनि कुर्नुपर्ने हुन्छ ।
तर सुरुङमार्गको प्रयोग गर्दा सिस्नेखोला देखि किसिपिढीसम्मको ५ किलोमिटरको दूरी पार गर्न जम्मा ७ देखि ८ मिनेट मात्र लाग्छ । यसले गाडीको इन्धन खपत घटाउँछ, गाडीको इन्जिनको आयु बढाउँछ र मानिसको अमूल्य समय जोगाउँछ । यो एउटा गेम–चेन्जर प्रोजेक्ट हो ।
आयोजना सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन कसरी गरिएको छ ?
सुरुङमार्ग सञ्चालनका लागि हामीले दक्ष जनशक्तिको एउटा ठुलो टोली तयार गरेका छौं । सडक विभागको टेन्डर प्रक्रिया अनुसार विभिन्न युनिटहरू छन् । जस्तैः फ्यासिलिटी म्यानेजमेन्ट युनिट, ट्राफिक फ्यासिलिटी कन्ट्रोल म्यानेजमेन्ट, सिभिल वर्क युनिट, टोल कलेक्सन र सेफ्टी म्यानेजमेन्ट युनिट । जम्माजम्मी १५० जना कर्मचारीको दरबन्दी छ ।
यसमा सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, टोल कलेक्टर र सुरक्षा विज्ञहरू समावेश छन् । नेपालमा सुरुङ मार्गको अनुभव भएका मानिस कम भएकोले हामीले धेरैलाई अहिले विशेष तालिम दिएर तयार पारेका छौं।
नेपालको पहिलो सुरुङमार्ग भएकोले यसमा जोखिम र चुनौतीहरू के–के देख्नुहुन्छ ?
चुनौतीहरू त अवश्य छन् । सबैभन्दा ठुलो चुनौती भनेको मानिसहरूको व्यवहार र अनुशासन हो । नयाँ संरचना भएकोले चालकहरू एक्साइटेड भएर सुरुङ भित्र फोटो खिच्ने, गाडी रोक्ने वा उच्छृङ्खल गतिविधि गर्ने सम्भावना हुन्छ । तर प्राविधिक रूपमा भन्नुपर्दा सुरुङमार्ग बाहिरको बाटो भन्दा बढी सुरक्षित हुन्छ । यहाँ हावाहुरी, बाढी वा पहिरोको प्रत्यक्ष असर पर्दैन । यद्यपि, भित्र हुन सक्ने आगलागी वा मेकानिकल फेलियर हाम्रा लागि चुनौती हुन्, जसका लागि हामीले पर्याप्त पूर्वतयारी गरेका छौं ।
दैनिक कति सवारी साधन आउजाउ गर्ने अनुमान छ र यसबाट हुने आम्दानीको अवस्था के होला ?
अहिलेको ट्राफिक तथ्याङ्क हेर्दा नागढुङ्गा भञ्ज्याङ भएर दैनिक धेरै सवारी साधन चल्छन् । हामीले सुरुङमार्गबाट दैनिक करिब १० हजार सवारी साधन आउजाउ गर्ने अनुमान गरेका छौं । आम्दानीको कुरा गर्दा यो टोल कलेक्सनमा आधारित हुन्छ । तर ठ्याक्कै कति आम्दानी हुन्छ भन्ने कुरा म अहिले भन्न सक्ने अवस्थामा छैन । किनकि त्यो मेरो कार्यक्षेत्र भन्दा बाहिरको कुरा हो ।
सुरुङमार्गको जिम्मेवारी पाएको चिनियाँ र नेपाली कम्पनी युसियन एआरटी जेभीले मुख्य रूपमा के–के काम गर्छ ?
हाम्रो कम्पनीको मुख्य जिम्मेवारी नै नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा मर्मत हो । यस अन्तर्गत सवारी साधनको आवागमनलाई सुचारु बनाउने, टोल कलेक्सन गरी सरकारलाई बुझाउने, सुरुङमार्गभित्रका प्राविधिक उपकरणहरूको रेखदेख गर्ने, सरसफाइ गर्ने र सानातिना टुटफुट भएमा मर्मत गर्ने कामहरू पर्छन् । मुख्य उद्देश्य भनेको यात्रुलाई सुरक्षित र निर्बाध सेवा दिनु हो ।
चिनियाँ र नेपाली टोली बीचको समन्वय र जिम्मेवारी बाँडफाँड कसरी गरिएको छ ?
यो एउटा संयुक्त टोली हो । चिनियाँ विज्ञहरूसँग सुरुङमार्ग सञ्चालनको लामो अनुभव छ । त्यसैले अहिले प्रत्येक महत्त्वपूर्ण युनिटको हेडको रूपमा चिनियाँ विज्ञहरू हुनुहुन्छ । उहाँहरूले नेपाली कर्मचारीहरूलाई प्रविधि
हस्तान्तरण गरिरहनुभएको छ । जम्मा ८ देखि १० जना चिनियाँ विज्ञहरू हुनुहुन्छ । नेपाली टोलीमा पनि सिभिल इन्जिनियर र अन्य प्राविधिकहरू छन् जो भविष्यमा यसलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्षम हुनेछन् । सडक विभागले सीभी र कार्यक्षमताका आधारमा कर्मचारीको एप्रुभल दिएपछि मात्र हामीले नियुक्ति गरेका छौं ।
सुरुङमार्गभित्र सुरक्षा संयन्त्र र उपकरणहरू कसरी मिलाउनुभएको छ ?
सुरुङमार्गभित्र सुरक्षाका लागि विभिन्न लेयरको व्यवस्था गरेका छौं । १५ वटा शक्तिशाली ‘जेट फ्यान’ राखिएका छन् । जसले भित्रको कार्बन मोनोअक्साइड र धुवाँको स्तर हेरेर अटोमेटिक रूपमा आफ्नो गति परिवर्तन गर्छन् । लाइटिङ सिस्टम पनि अटोमेटिक बनाइएको छ । जसले बाहिरको घाम वा बदलीको अवस्था हेरेर भित्रको प्रकाश समायोजन गर्नेछ ।
सुरुङमार्गभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेका छौं । हरेक ५० मिटरमा फायर हाइड्रेट (आगो निभाउने संयन्त्र) जडान छन् । आगलागीको सूचना पाउने बित्तिकै बज्ने अटोमेटिक अलार्मको व्यवस्था छ ।
पोर्टलमा ५००० लिटर क्षमताका दुईवटा दमकल र तालिमप्राप्त फायर फाइटरहरू चौबिसै घण्टा स्ट्यान्डबाई रहनेछन् । सुरुमा बसलाई मात्र, त्यो पनि एकतर्फी रूपमा सञ्चालन गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । सबैजना यस प्रविधिसँग परिचित भएपछि मात्र दुईतर्फी बस सञ्चालन र त्यसपछि क्रमशः अन्य साना तथा ठुला सवारी साधनलाई अनुमति दिइने तयारी भइरहेको छ ।
सेफ्टी म्यानेजमेन्ट युनिट अन्तर्गत रेस्क्यु टिम, पेट्रोल टिम, फायर फाइटिङ टिम, भेइकल टोइङ र भेइकल लिफ्टिङ टिमहरू छन् । सुरुङमार्गभित्र २४सै घण्टा पेट्रोलिङ भइरहन्छ । कुनै पनि सानो दुर्घटना वा गाडी बिग्रने घटना भएमा हामी तुरुन्तै थाहा पाउँछौं र ५ देखि १० मिनेटभित्र उद्धार टोली घटनास्थलमा पुग्छ ।
यदि सुरुङमार्गभित्र गाडी बिग्रियो वा टायर पन्चर भयो भने के गर्ने ?
यदि गाडी बिग्रिएमा चालकले आत्तिएर गाडी बाटोमै छोड्नु हुँदैन । हामीसँग टोइङ भेइकल र लिफ्टिङ भेइकलहरू तयारी अवस्थामा छन् । हामी तुरुन्तै त्यो गाडीलाई तानेर सुरुङ बाहिर निकाल्छौं वा साइड लगाउँछौं ताकि अरू गाडीलाई अवरोध नहोस् । सुरुङमार्गभित्र गाडी मर्मत गर्न वा टायर फेर्न पाइँदैन, किनकि त्यसले जाम र दुर्घटना निम्त्याउन सक्छ ।
सुरुङमार्गमा आपतकालीन टेलिफोन बुथ राखिएको कुरा सत्य हो ?
हो, आपतकालीन टेलिफोन बुथहरू राखिएको छ । यदि तपाईंको मोबाइलले काम गरेन वा कुनै समस्या पर्यो भने तपाईंले ती बुथमा गएर फोन उठाउने बित्तिकै सिधै कन्ट्रोल रुममा सम्पर्क हुन्छ । तपाईंले आफ्नो समस्या बताएपछि हाम्रो टोली तुरुन्तै आउँछ ।
आगलागी भयो भने नियन्त्रणका लागि के व्यवस्था छ ?
आगलागी नियन्त्रणका लागि यहाँ फायर हाइड्रेन्टहरू जडान गरिएका छन् । सुरुङको दायाँ–बायाँ भित्तामा पानीका पाइपहरू छन् । पाइपमा पानीको पर्याप्त प्रेसर हुन्छ । साथै प्रत्येक निश्चित दूरीमा फायर इस्टिङ्ग्युसर अर्थात् आगो निभाउने उपकरण राखिएका छन् । हाम्रा आफ्नै दमकलहरू पनि पोर्टलमा स्ट्यान्डबाई हुन्छन् ।
सुरुङमार्गभित्र प्रदूषण र धुवाँको व्यवस्थापन कसरी हुन्छ ?
हामीले जेट फ्यानहरू राखेका छौं । सुरुङमार्गभित्र गाडीहरू चल्दा निस्कने धुवाँ र कार्बनमोनोअक्साइडलाई बाहिर फाल्न र ताजा अक्सिजन भित्र ल्याउन यी फ्यानहरूले २४सै घण्टा काम गर्छन् । यदि भित्र आगलागी भएर धुवाँ भरियो भने स्मोक डिटेक्टरले तुरुन्तै संकेत दिन्छ र यी फ्यानहरूले धुवाँलाई तीव्र गतिमा बाहिर फाल्छन् । यसले गर्दा यात्रुलाई सास फेर्न समस्या हुँदैन ।
सुरुङमार्गभित्र बत्ती गयो भने के हुन्छ ?
सुरुङमार्गभित्रको बिजुली आपूर्ति कहिल्यै काटिँदैन । ९९.९९ प्रतिशत बिजुली नजाने व्यवस्था गरिएको छ । यदि मुख्य लाइनबाट बिजुली गयो भने पनि १५ सेकेन्डभित्र हाम्रो अत्याधुनिक ब्याकअप जेनेरेटर र अटोमेसन सिस्टमले बिजुली सुचारु गर्छ । सुरुङमार्गभित्र अँध्यारो हुने अवस्था नै आउँदैन ।
विपद् व्यवस्थापनका लागि के-कस्तो योजना छ ?
यो सुरुङमार्ग भूकम्प प्रतिरोधी प्रविधिबाट बनाइएको छ । ठुला रेक्टरका भूकम्पले पनि यसलाई असर नगर्ने गरी इन्जिनियरिङ गरिएको छ । यद्यपि, कुनै पनि विपद्को अवस्थामा हामीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको इमर्जेन्सी रेस्पोन्स ग्रुपसँग समन्वय गरेका छौं ।
मुख्य सुरुङमार्गको छेउमा अर्को सानो सुरुङ पनि देखिन्छ, त्यो के हो ?
त्यो इमर्जेन्सी इभ्याकुएसन टनेल हो । यो मुख्य सुरुङको समानान्तर २६८८ मिटरकै लम्बाइमा छ । यदि मुख्य सुरुङमार्गभित्र ठुलो आगलागी भयो, बाटो ब्लक भयो वा युद्ध जस्तो अवस्था आयो भने यात्रुहरूलाई सुरक्षित रूपमा निकाल्न यो प्रयोग गरिन्छ । मुख्य सुरुङबाट यो इभ्याकुएसन टनेलमा जानका लागि निश्चित दूरीमा ढोकाहरू राखिएका छन् । ती ढोकाहरूबाट मानिस र साना गाडीहरू छिर्न सक्छन् र अर्को सुरुङ हुँदै सुरक्षित बाहिर निस्कन सक्छन् ।
सुरुङमार्गमा जाम भयो भने के गर्ने ?
सुरुङमार्गभित्र ओभरटेक गर्न नपाउने भएकोले गाडीहरू एउटै लाइनमा अनुशासित भएर हिँड्नुपर्छ । यदि एउटा गाडी बिग्रिएर जाम भयो भने हामी तुरुन्तै त्यो गाडीलाई तानेर इभ्याकुएसन टनेलमा हाल्छौं वा बाहिर निकाल्छौं । जाम हुन नदिनु नै हाम्रो मुख्य काम हो ।
नेपाली टोलीले चिनियाँ प्रविधिबाट के सिकिरहेको छ ?
हामीले धेरै कुरा सिकिरहेका छौं । सुरुङ मार्गको सञ्चालन, कन्ट्रोल रुमको मोनिटरिङ, टोल कलेक्सन सफ्टवेयर र सुरक्षाका प्राविधिक पक्षहरू हाम्रा लागि नयाँ थिए । चिनियाँ र भारतीय विज्ञहरूले हामीलाई मक ड्रिल र ड्राई रिहर्सल गराइरहनुभएको छ । अबको केही समयपछि नेपाली जनशक्ति नै यो सुरुङमार्ग पूर्ण रूपमा सञ्चालन गर्न सक्षम हुनेछ । यो एउटा ठुलो ज्ञान र प्रविधि हस्तान्तरणको अवसर हो ।
यदि सुरुङमार्ग कुनै कारणले बन्द भयो भने विकल्प के छ ?
सुरुङमार्ग बन्द हुने अवस्था आएमा यात्रुहरूले साविककै नागढुङ्गाको उकालो बाटो (पुरानो बाटो) प्रयोग गर्नुपर्ने हुन्छ । त्यो बाटोलाई पनि सरकारले विकल्पको रूपमा सधैं सुचारु राख्नेछ । सुरक्षित सुरुङमार्ग प्रयोग गरौं । देशको विकासमा सघाऔं । हामीले नागढुङ्गा सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्वास गरेका छौं । यसमा सबैको साथ सहयोग आवश्यक छ ।