पृथ्वीतर्फ आउने क्षुद्रग्रहलाई बीच आकाशमै ध्वस्त पार्ने चीनको महायोजना

काठमाडौं । चीनले पृथ्वीलाई भविष्यमा क्षुद्रग्रह (एस्टेरोइड)को सम्भावित ठक्करबाट जोगाउने उद्देश्यसहित महत्त्वाकांक्षी अन्तरिक्ष मिसनको तयारी थालेको छ ।

यसअन्तर्गत चीनले आफ्नो पहिलो ‘प्लानेटरी डिफेन्स टेस्ट’ सञ्चालन गर्दै ध्वनिको गतिभन्दा २६ गुणा (म्याक–२६) बढी वेगमा चल्ने अन्तरिक्षयानलाई एउटा क्षुद्रग्रहसँग ठोक्काउने योजना बनाएको हो ।

यो मिसन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको डबल एस्टेरोइड रिडाइरेक्शन टेस्ट (डीएआरटी) भन्दा अझ उन्नत हुने बताइएको छ । नयाँ अनुसन्धानपत्रअनुसार यो परीक्षण सन् २०३० अघि नै गरिने लक्ष्य राखिएको छ ।

नासाको डीएआरटी मिसनले सन् २०२२ मा एउटा क्षुद्रग्रहको कक्षामा सामान्य परिवर्तन गरेर अवधारणा (प्रुफ अफ कन्सेप्ट) सफल भएको प्रमाणित गरेको थियो । तर चीनले यसपटक अझ व्यावहारिक परीक्षण गर्दै पृथ्वीतर्फ आउन सक्ने क्षुद्रग्रहको दिशा परिवर्तन गर्न वा आवश्यक परे त्यसलाई टुक्राउन सकिन्छ कि सकिँदैन भन्ने परीक्षण गर्न खोजेको हो ।

चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) का प्लानेटरी डिफेन्स प्रमुख वैज्ञानिक ली मिङताओ नेतृत्वको टोलीका अनुसार यस मिसनको मुख्य उद्देश्य पृथ्वीसँग सम्बन्धित क्षुद्रग्रहको कक्षालाई प्रत्यक्ष रूपमा परिवर्तन गर्नु वा आवश्यक परे त्यसको संरचनालाई नै भत्काउनु हो ।

यसबाट भविष्यमा पृथ्वीतर्फ आउने खतरनाक क्षुद्रग्रहलाई समयमै रोक्न सकिने अपेक्षा गरिएको छ ।

अनुसन्धानपत्रअनुसार अन्तरिक्षयानले सन् २०२९ वा २०३० मा पृथ्वीबाट करिब ७० लाख किलोमिटर दूरीमा पुग्ने बेला आफ्नो लक्ष्यसँग ९ किलोमिटर प्रति सेकेन्डभन्दा बढी गतिमा ठोक्किनेछ ।

नासाको डीएआरटी अन्तरिक्षयान भने ६.१ किलोमिटर प्रति सेकेन्ड गतिमा ठोक्किएको थियो । यस हिसाबले चीनको अन्तरिक्षयान करिब ५० प्रतिशत बढी गतिमा क्षुद्रग्रहमा ठोक्किनेछ ।

यस मिसनको लक्ष्य ‘२०१५ एक्सएफ २६१’ नामको पृथ्वी नजिकको क्षुद्रग्रह हो । यो क्षुद्रग्रह पहिलो पटक सन् २०१५ मा पत्ता लागेको थियो । यसको आकार करिब ३० मिटर रहेको अनुमान गरिए पनि वास्तविक आकार अझै निश्चित भइसकेको छैन ।

यो क्षुद्रग्रह सन् २०२९ वा २०३० मा पृथ्वीबाट करिब ७० लाख किलोमिटर दूरी हुँदै गुज्रिने अनुमान गरिएको छ । यसको घुम्ने गति र भित्री संरचनाबारे पर्याप्त जानकारी नभए पनि यो ठोस चट्टान वा निकै बलियो संरचनायुक्त वस्तु हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

यो मिसनमा दुईवटा अन्तरिक्षयान एकैपटक प्रक्षेपण गरिनेछ । पृथ्वीको कक्षा छोडेपछि ती दुई अलग हुनेछन् ।

पहिलो अन्तरिक्षयान ‘इम्प्याक्टर’ हुनेछ, जसले सीधै क्षुद्रग्रहसँग ठोक्किने काम गर्नेछ । दोस्रो ‘अब्जर्भर’ हुनेछ, जसले ठक्करअघि, ठक्करका क्रममा र त्यसपछि क्षुद्रग्रहको कक्षा, सतह, उडेको मलबा र भित्री संरचनामा आएका परिवर्तनको विस्तृत अध्ययन गरी वैज्ञानिकहरूलाई तथ्यांक पठाउनेछ ।

चीनको यो योजना नासाको डीएआरटी मिसनभन्दा धेरै पक्षमा फरक छ । नासाले एउटा ठूलो क्षुद्रग्रहको परिक्रमा गरिरहेको सानो उपग्रह (डाइमोर्फोस) को कक्षा परिवर्तन गरेको थियो भने चीनले सूर्यको परिक्रमा गरिरहेको स्वतन्त्र क्षुद्रग्रहको पृथ्वीसँग सम्बन्धित कक्षा परिवर्तन गर्ने परीक्षण गर्न लागेको हो ।

यस्तै, नासाले अवलोकनका लागि पछि युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) को हेरा मिसन पठाएको थियो । तर चीनले एउटै प्रक्षेपणमा इम्प्याक्टर र अब्जर्भर दुवै अन्तरिक्षयान पठाएर सम्पूर्ण प्रक्रिया एकै अभियानमा पूरा गर्ने योजना बनाएको छ ।

चिनियाँ वैज्ञानिकहरूका अनुसार यदि यो प्रयास सफल भयो भने यो चीनको पहिलो ‘एन्ड–टु–एन्ड प्लानेटरी डिफेन्स’ प्रदर्शन हुनेछ । यसमा क्षुद्रग्रह पहिचान गर्ने, त्यसको दिशा परिवर्तन गर्ने र ठक्करपछि आएको परिणाम पुष्टि गर्ने सम्पूर्ण प्रक्रिया समेटिनेछ ।

ठक्करपछि क्षुद्रग्रहबाट अवशेष तथा टुक्राहरू उडे पनि वैज्ञानिकहरूले त्यसको कक्षामा आएको सानो परिवर्तन मापन गर्नेछन् । साथै दिशा परिवर्तन अपेक्षाअनुसार सफल भयो वा भएन भन्ने सुनिश्चित गर्न लामो समयसम्म त्यसको निगरानी पनि गरिनेछ । 

यस्तो प्रविधि भविष्यमा पृथ्वीलाई खतरनाक क्षुद्रग्रहको सम्भावित ठक्करबाट जोगाउन उपयोगी हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।

Share News