काठमाडौं । वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ कार्यक्रम अन्तर्गत युवालाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन लागिएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईँ भट्टराईले उक्त कार्यक्रमका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
‘युवालाई कृषि उद्यममा प्रोत्साहित गर्न सोचअनुसार यो कार्यक्रम ल्याइएको हो । वैदेशिक रोजगारीबाट र स्वदेशमै पनि सहरदेखि गाउँ फर्केर कृषि उद्यम गर्न चाहने युवाले ऋणमा ब्याज अनुदान पाउनुहुन्छ,’ उनले भनिन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले कृषिमा युवाहरूलाई आकर्षित गर्न र गाउँमै रोजगारी सृजनामा टेवा पुर्याउन ‘रिटर्न टु भिलेज’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले कृषि उत्पादन वृद्धि र बजारीकरणका लागि मन्त्रालयले किसानलाई सघाउँदै आएको बताए ।
उनका अनुसार चालु आवमा ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’का लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै जैविक मलमा अनुदान र उत्पादन प्रोत्साहनका लागि २ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।