काठमाडौं । बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि त्यसबापतको भुक्तानी गरिदिने क्रममा सेवाग्राहीसँग घुस माग्ने दुईजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख र एक मेकानिकल अधिकृतलाई आयोगले नियन्त्रणमा लिएको हो ।
कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई आयोगले नियन्त्रणमा लिएको हो ।
ढकाल र चौधरीले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरिसकेपछि सेवाग्राहीलाई हैरानी दिँदै घुस मागेको सूचना तथा उजुरी प्राप्त भएको थियो ।
त्यसपश्चात अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा उनीहरूलाई सेवाग्राहीबाट रु. ७ लाख ५० हजार घुस लिइसकेको अवस्थामा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वाटरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
कारबाहीका क्रममा घुसबापत लिइएको ७ लाख ५० हजार, स्रोत नखुलेको ७१ हजार ११५ नगद र तीन थान मोबाइल समेत बरामद गरिएको आयोगले जनाएको छ ।
अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।