काठमाडौं । मुस्ताङमा रहेको शिन्तामणि विश्वकै उत्कृष्ट लक्जरी रिसोर्टको पहिलो नम्बरमा परेको छ । म्यागेजिन रोबले शिन्तामणिलाई उत्कृष्ट सूचीमा राखेको हो ।
रोबले विश्वभरको लक्जरी रिसोर्टको अनुसन्धानका आधारमा शिन्तामणिलाई उत्कृष्ट रिसोर्टमा राखेको हो ।
प्रख्यात डिजाइनर बिल बेन्स्लीले सिर्जना गरेका भव्य र कल्पनाशील उत्कृष्ट होटलहरूमध्ये यो पनि एक हो ।
बागलुङको ढुंगाले निर्माण गरिएको यस भवनका हरेक कोठाबाट नजिकैका हिमालहरूको मनमोहक दृश्य देख्न सकिन्छ ।
क्रिस्टोफर विलमोट–सिटवेलका शब्दमा भन्नुपर्दा ‘शरीर, मन र आत्मालाई पूर्ण विश्राम दिने यस अन्तिम गन्तव्यबाट देखिने दृश्य साँच्चिकै सास रोक्ने खालका छन् ।’
होटलमा प्रति रातको शुल्क दुई जनाका लागि १८ सय अमेरिकी डलर (पौने ३ लाख रुपैयाँ) बाट सुरु हुन्छ । स्वीट रुमको २२ सय डलर (सवा ३ लाख रुपैयाँभन्दा बढी) सम्म रहेको छ ।
कम्तीमा पाँच रात बस्नुपर्ने व्यवस्था भएकाले यहाँ आउने पाहुनाले दैनिक व्यस्तताबाट टाढिएर पूर्ण रूपमा विश्राम पाउँछन् ।
२९ कोठा रहेको यो होटल नेपालका एक समय स्वतन्त्र रहेको क्षेत्रमा अवस्थित छ, जहाँ जनघनत्व सगरमाथा क्षेत्रको तुलनामा निकै कम छ । यही कारण यो स्थान अझ शान्त र आकर्षक मानिन्छ ।
यहाँ आएपछि घोडचढी, तीरन्दाजी तथा दुर्गम पहाडी भू–भागमा पदयात्राको आनन्द लिन सकिन्छ ।
यस क्षेत्रको ८०० वर्ष पुरानो लुब्रा गाउँसम्म पैदल पुग्ने अवसर पनि छुटाउनु हुँदैन । बोन बौद्ध धर्मको महत्त्वपूर्ण केन्द्र मानिने यो गाउँले आजसम्म आफ्नो प्राचीन धार्मिक परम्परा जोगाएर राखेको छ ।
साथै होटलमै रहेका आम्ची (परम्परागत तिब्बती चिकित्सक)बाट परम्परागत तरिकाबाट उपचार सेवा लिन सकिने सुविधा पनि उपलब्ध छ ।
रबले यस्ता सूची कुनै एउटा मापदण्डका आधारमा तयार गर्दैन । यस्तो सूची तयार गर्दा पत्रिकाको अनुभवी सम्पादकीय टोली, विश्वभरका लक्जरी यात्रा विशेषज्ञ तथा योगदानकर्ताको प्रत्यक्ष अनुभव र मूल्याङ्कनलाई आधार बनाइन्छ ।
होटलको सेवा–सुविधा, व्यक्तिगत आतिथ्य, वास्तुकला र डिजाइन, प्राकृतिक वा सांस्कृतिक रूपमा आकर्षक स्थान, खानपानको गुणस्तर, गोपनीयता, विशिष्ट अनुभव तथा वातावरणीय दिगोपनजस्ता पक्षहरूको समग्र मूल्याङ्कन गरिन्छ ।
साथै होटलले अतिथिलाई अरूभन्दा फरक र सम्झनलायक अनुभव दिन्छ कि दिँदैन भन्ने पक्षलाई विशेष महत्त्व दिन्छ ।