काठमाडौं । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग राख्दै माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार माइतीघरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरूले सरकारले साना र ठूला बचतकर्ता भनेर पीडितहरूलाई विभाजन गरी आन्दोलन कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । सहकारी पीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनमा रहेका सहकारी पीडितहरूको बचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे । माग सम्बोधन गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको उल्लेख गर्दै उनले अब सहकारी पीडितहरूको माग तत्काल सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
विगतमा सहकारी पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन गराउन आफूहरू आन्दोलनमा उत्रिएको उनको भनाइ छ । सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीडितहरूबीच विभाजन ल्याउन खोजेको आरोप पनि उनले लगाए । सबै पीडित समान भएकाले सबैलाई समान व्यवहार गर्दै बचत फिर्ता गर्न उनले सरकारसँग आग्रह गरे । सरकारले हाल ठूला ऋणीसँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ ।
प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित बचतकर्तालाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्तालाई न्याय देऊ’, ‘ए सरकार, कि त मारिदेऊ, कि त खोला तारिदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै, उनीहरूले आफू पीडित बनेका सहकारीका सञ्चालकहरूको फोटोसहितका ब्यानर पनि प्रदर्शन गरेका थिए ।