ग्रिनप्लाई नेपालको आईपीओ प्रक्रिया अघि बढ्यो, सर्वसाधारणलाई २० प्रतिशत सेयर दिने

काठमाडौं । प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरेको हो ।

आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ । कम्पनीले आईपीओ निष्कासनसँग सम्बन्धित प्रस्ताव पारित गर्न आगामी साउन २२ गते विराटनगरस्थित आफ्नो रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा बोलाएको जनाएको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा बिक्री अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले वृद्धि भई वार्षिक कारोबार करिब ४७.५ करोड रुपैयाँ पुगेको छ । विगत पाँच वर्षदेखि कम्पनी निरन्तर नाफामा सञ्चालन हुँदै आएको र यसले कम्पनीको वित्तीय अवस्था थप मजबुत बनाएको दाबी गरिएको छ ।

ग्रिनप्लाई नेपालले आफ्नो उत्पादनको करिब ३० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ । कम्पनीले भारतीय बजारमा बीआईएस प्रमाणीकरण प्राप्त उत्पादन निर्यात गर्दै आएको तथा नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गरिरहेको जनाएको छ ।

कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश, अत्याधुनिक प्रविधिमा लगानी तथा नवप्रवर्तनमार्फत दीर्घकालीन वृद्धि हासिल गर्ने रणनीति लिएको जनाएको छ । आयात प्रतिस्थापनसँगै निर्यात विस्तार गर्दै उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने लक्ष्य कम्पनीले राखेको छ । 

Share News