काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा विद्यमान असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत रहेको बताएका छन् ।
बुधवार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
बैठकमा भएका छलफलका बारेमा जानकारी दिँदै लामिछानेले वर्तमान घटनाक्रमका विषयमा राजनीतिक दलहरूको दृष्टिकोण र मार्गनिर्देशन तय गर्न शीर्ष नेताहरूबीच संवाद भएको बताए ।
सरकारको उपस्थिति र जिम्मेवारीका सम्बन्धमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै उनले यो बैठक विशेषगरी राजनीतिक दलहरूले आफ्नो धारणा बनाउन र सरकारको ध्यानाकर्षण गराउन आयोजना गरिएको स्पष्ट पारे ।
सभापति लामिछानेले भने, ‘कुनैपनि परिस्थितिमा साम्प्रदायिक सद्भाव खलबलिने, एक समुदायले अर्को समुदायप्रति घृणा वा द्वेष फैलाउने र आक्रमण गर्ने जस्ता गतिविधि हुनु देशका लागि हानिकारक छ । यस्ता संवेदनशील विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने महशुस गरी चाँडै नै सबैको तर्फबाट एउटा संयुक्त अपिल सार्वजनिक गरिनेछ ।’
सुनसरी लगायतका जिल्लामा हालै भएका प्रदर्शनको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए ।
विगतका आन्दोलन र वर्तमान परिस्थितिको तुलना गर्दै सभापति लामिछानेले अहिलेको प्रमुख दायित्व शान्ति सुव्यवस्था र आपसी सद्भाव कायम गर्नु रहेको बताए ।
उनले आरोप–प्रत्यारोपमा उत्रिनुभन्दा पनि जिम्मेवार भएर अगाडि बढ्न सबैलाई आग्रहसमेत गरे ।