गोपालमान श्रेष्ठको श्रद्धाञ्जलीमा संस्थापनइतर नेताको अनुपस्थिति, सानेपामा उठ्यो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा संस्थापनइतर पक्षका शीर्ष नेताहरू अनुपस्थित भएपछि कांग्रेसभित्र त्यसबारे चर्चा सुरु भएको छ ।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार संस्थापनइतर पक्षका अधिकांश नेताहरू श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय पुगेनन् । उनीहरूमध्ये केही नेताले श्रेष्ठको पार्थिव शरीर अस्पतालबाट निवासमा लगिएपछि त्यहीँ पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

निवर्तमान प्रवक्ता प्रकाशशरण महतले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको तस्बिर सार्वजनिक गरेका छन् । उक्त तस्बिरमा नेता शशांक कोइराला, एनपी साउद, दीपक खड्कालगायत नेताहरू पनि देखिएका छन्। 

त्यसैगरी, नेता शेखर कोइराला पनि सानेपास्थित केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रममा सहभागी नभएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

संस्थापनइतर नेताहरू केन्द्रीय कार्यालयमा उपस्थित नभएर निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको घटनाले पार्टीभित्र विभिन्न टिप्पणी र प्रश्नहरू उठ्न थालेका छन् ।  यद्यपि, उनीहरू केन्द्रीय कार्यालयमा किन उपस्थित भएनन् भन्ने विषयमा सम्बन्धित नेताहरूले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

Share News