कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट अब ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालस्थित प्रविधि कम्पनी निम्बजसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) सम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । यससम्बन्धी समझदारीपत्र (एमओयू) मा दुवै पक्षबीच हस्ताक्षर भएको हो ।

सम्झौतापछि कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाटै सहज रूपमा ई–सिम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) का लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । विशेषगरी विदेश भ्रमण, अध्ययन, रोजगारी तथा व्यावसायिक प्रयोजनका लागि विदेश जाने नेपालीलाई यस सेवाबाट लाभ पुग्ने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार ई–सिम सेवामार्फत विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा डेटा सेवा सञ्चालन गर्नुपर्ने झन्झट हट्नेछ । त्यस्तै आईडीपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

यस सेवाको अर्को विशेषता भनेको ई–सिम र आईडीपी सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने व्यवस्था हो । यसले विदेशी मुद्रा भुक्तानीको झन्झट कम गर्दै सम्पूर्ण प्रक्रियालाई अझ सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने बैंकको भनाइ छ ।

कुमारी बैंकले यस सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवामा पहुँच विस्तार गर्नुका साथै विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यवसायका लागि आवश्यक सेवा एउटै डिजिटल माध्यमबाट उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Share News