काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरेका विभिन्न कार्यक्रममार्फत देशभरका लाखौँ नागरिकलाई प्रत्यक्ष तथा परोक्ष रूपमा लाभान्वित गरेको जनाएको छ ।
बैंकले सीएसआरलाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो विकास, समावेशी वृद्धि र समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै आएको जनाएको छ । बैंकका अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् व्यवस्थापन तथा समुदायको समग्र उत्थानका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन भइरहेको छ ।
वित्तीय समावेशीकरण र वित्तीय सचेतना प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले सातै प्रदेशमा रहेका आफ्ना १४८ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । उक्त अभियानबाट करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य लक्षित वर्गलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार हालसम्म सञ्चालन गरिएका १०० भन्दा बढी सीएसआर कार्यक्रमबाट सातै प्रदेशका लाखौँ नागरिक लाभान्वित भएका छन् । यस्ता कार्यक्रमले बैंक र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै समावेशी तथा दिगो विकासप्रतिको बैंकको प्रतिबद्धता पनि झल्काएको जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा बैंकले बाराको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरी करिब ८०० जनाको आँखा परीक्षण गरेको थियो । परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका करिब १५० बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी, म्याग्दीको भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य चौकीबाट वडा नम्बर १ र २ का चार हजार ३०० भन्दा बढी स्थानीयले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् ।
वातावरण संरक्षणलाई प्राथमिकता दिँदै बैंकले ‘एक खाता, एक रुख’ अभियानअन्तर्गत विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंको बूढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा करिब २५० बिरुवा रोपेको थियो । साथै कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत वृक्षारोपण कार्यक्रम सञ्चालन गरी देशभर एक हजार ५०० बिरुवा रोपिएको जनाएको छ ।
शिक्षा क्षेत्रमा बैंकले कर्णाली प्रदेशको हुम्लास्थित अदानचुली गाउँपालिका–३ को श्री छत्रपाल आधारभूत विद्यालयका २०५ विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ । साथै दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल पेपर, ई–ग्रेड ब्रेल स्टाइलस, इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा सफ्टवेयरसहितका शैक्षिक सामग्री वितरण गरी उनीहरूको अध्ययनलाई सहज बनाउन सहयोग गरेको जनाएको छ ।
बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा निरन्तरता दिँदै समाज, वातावरण र राष्ट्रको दिगो विकासमा थप प्रभावकारी योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।