अतिक्रमण हटाएर माइतीघरको ढल निकास फराकिलो बनाइँदै

डुबान हटाउन संरचनामाथि डोजर चल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघरको डुबान समस्या अन्त्य गर्न ढल निकास फराकिलो बनाउने काम सुरु गरेको छ । माइतीघरलगायत क्षेत्रमा वर्षेनी दोहोरिने डुबान र ढल निकासको समस्याको दीर्घकालीन समाधानका लागि महानगरले ढल निकास विस्तार अभियान थालेको हो ।

महानगरले बुधबार माइतीघरबाट नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने सडकतर्फ ढल निकास सफा गर्ने तथा अवरुद्ध भाग खुलाउने काम गरिरहेको छ ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण तथा संरचनागत अतिक्रमणका कारण डुबान र ढल निकासको समस्या उत्पन्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । साउन ६ गते बुझाइएको उक्त प्रतिवेदनले सहरी विस्तारका क्रममा भएको अव्यवस्थित निर्माणका कारण ढल निकास अवरुद्ध हुँदा वर्षेनी डुबान हुने गरेको उल्लेख गरेको छ ।

उक्त प्रतिवेदन कार्यान्वयन गर्दै महानगरपालिकाले थापाथली क्याम्पस, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा अन्य सरकारी कार्यालय आसपासको ढल निकास खुलाउने काम सुरु गरेको हो ।

सडक डिभिजन काठमाडौंका प्रमुख सुवोधकुमार देवकोटाले माइतीघरमा डुबान हुनुको मुख्य कारण ढल निकास साँघुरो हुनु र कतिपय स्थानमा पुरिनु रहेको बताए । उनका अनुसार आगामी वर्षायाममा डुबान र बाढीको समस्या न्यूनीकरण गर्न पुरिएका ढल निकास खुलाएर थप फराकिलो बनाउने काम भइरहेको छ ।

उनले सैनिक मुख्यालय परिसरका ब्यारेक आसपास विभिन्न स्थानमा गरिएको उत्खननका क्रममा ढल निकासमा अवरोध (ब्लकेज) भेटिएको र सम्बन्धित निकायसँग समन्वय गरी ती अवरोध हटाउने काम भइरहेको जानकारी दिए ।

उनले भने, ‘हामीले यहाँको डुबान र बाढीको समस्या पहिलेदेखि नै अध्ययन गरेका थियौं।  अध्ययनका क्रममा ढल निकास साँघुरो रहेको र कतिपय स्थानमा पुरिएको पाइयो । अहिले पुरिएका ढल निकास खुलाएर थप फराकिलो बनाउने काम गरिरहेका छौं । सैनिक मुख्यालयको ब्यारेक आसपास पनि विभिन्न स्थानमा ब्लकेज भेटिएकाले ती हटाउने काम भइरहेको छ । सार्वजनिक तथा निजी संरचनाका कारण अवरुद्ध भएका सबै ढल निकास खुलाउने हाम्रो योजना छ ।’

काठमाडौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले माइतीघरको डुबान समस्या समाधानका लागि महानगर प्रहरी अहोरात्र खटिएको बताए । उनका अनुसार सैनिक मुख्यालयको उत्तर कुनादेखि थापाथली क्याम्पस हुँदै राष्ट्रिय वाणिज्य बैंकसम्म खोलाको सतह सुधार तथा ढल निकास विस्तारको काम भइरहेको छ ।

ढल निकासको बहाव क्षमता बढाएर वर्षायाममा हुने डुबान न्यूनीकरण गर्ने उद्देश्यले सम्पूर्ण क्षेत्रमा ढल निकास फराकिलो बनाइने उनले बताए ।

उनले भने, ‘माइतीघरको डुबान समस्या समाधानका लागि हामी निरन्तर खटिएका छौं । सैनिक मुख्यालयको उत्तर कुनादेखि थापाथली क्याम्पस हुँदै राष्ट्रिय वाणिज्य बैंकसम्म खोलाको सतह सुधार र ढल निकास विस्तारको काम भइरहेको छ । ढल निकास खुलाउँदै यसको बहाव क्षमता वृद्धि गर्ने कामलाई प्राथमिकता दिएका छौं ।’

काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले माइतीघरमा हुने बाढी र डुबानको समस्याबारे विभिन्न चरणमा छलफल भइसकेपछि अहिले ढल निकास खुलाउने काम अघि बढाइएको बताए ।

उनका अनुसार थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालयका केही भौतिक संरचना ढल निकासको मार्गमै निर्माण गरिएकाले आवश्यक समन्वयपछि अवरोध बनेका संरचना हटाइनेछ ।

महानगरले तत्कालका लागि अतिक्रमण गरेर बनाइएका संरचना हटाउने, भित्री ढल तथा टुकुचाको पिँध सफा गर्ने, खोलाको किनार फराकिलो बनाउने, छोपिएका म्यानहोल खुलाउने तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने योजना अघि बढाएको जनाएको छ ।

Share News