काठमाडौं । नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण र नीतिगत सुधारको माग तत्काल कार्यान्वयन गर्न नर्सिङ तथा मिडवाइफ्री क्षेत्रमा कार्यरत जनशक्तिले सरकारसँग आग्रह गरेका छन् ।
नेपालको स्वास्थ्य प्रणालीको प्रमुख आधार नर्सिङ तथा मिडवाइफ्री सेवा भए पनि यस क्षेत्रमा कार्यरत जनशक्ति न्यून पारिश्रमिकमा काम गर्न बाध्य रहेको भन्दै अभियान्ताले आग्रह गरेका हुन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा लेखिएको छ, 'असुरक्षित रोजगारी, विभेदकारी कानुनी व्यवस्था, अपर्याप्त दरबन्दी, स्पष्ट मानव स्रोत नीतिको अभाव, सीमित नेतृत्व अवसर तथा व्यावसायिक सम्मानको कमीबाट प्रभावित छ ।’
ज्ञापनपत्रमा यी समस्याका कारण दक्ष नर्स तथा मिडवाइफ्री जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै गएको र त्यसको प्रत्यक्ष असर नेपालको स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथा समग्र स्वास्थ्य प्रणालीको प्रभावकारितामा परेको उल्लेख छ ।
संविधानले प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै उक्त अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सक्षम, पर्याप्त, सुरक्षित, सम्मानित तथा उत्तरदायी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति अपरिहार्य रहेको जनाइएको छ ।
ज्ञापनपत्रमा गुणस्तरीय स्वास्थ्य सेवा चिकित्सकीय उपचारबाट मात्र सम्भव नहुने उल्लेख गर्दै बिरामी सुरक्षा, गुणस्तरीय सेवा, क्लिनिकल गभर्नेन्स तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण आवश्यक रहेको उल्लेख छ ।