काठमाडौं । कीर्तिपुरकी सरिता जोशीको दैनिकी अचेल ग्यास डिपोहरू चहार्दैमा बित्छ । बिहान सबेरै उठेर रित्तो सिलिन्डर डोर्याउँदै नजिकैको पसल पुग्छिन्, तर उत्तर सधैं एउटै हुन्छ, ‘ग्यास आएको छैन ।’
५ दिन भइसक्यो, उनको भान्सामा चुलो बलेको छैन । ‘एउटा ग्यासका लागि दिनभरि पसल-पसल धाउनुपर्छ,’ सरिता भन्छिन्, ‘लामो समय पालो कुर्दा पनि ग्यास पाइँदैन । भान्सा नै ठप्प हुने अवस्था आयो, हाम्रो दुःख कसले बुझ्ने ?’
यो सास्ती सरिताको मात्र होइन, काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरका हजारौं उपभोक्ताको साझा पीडा हो । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभाव देखिएको छ । तर, अचम्मको कुरा के छ भने, सरकार र ग्यास उद्योगीहरू भनिरहेका छन् ग्यासको आयातमा कुनै कमी छैन ।
अभाव कि त्रास ?
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवहरी घिमिरेका अनुसार नेपालमा ग्यासको आपूर्ति सामान्य छ । मासिक ४५ देखि ५० हजार मेट्रिक टन ग्यास नियमित आइरहेको छ । घिमिरेले बजारमा ग्यासको अभाव हुनुमा ग्यासको आपूर्ति कम नभई उपभोक्ताले अनावश्यक रूपमा सिलिन्डर होल्ड गर्नु मुख्य कारण रहेको बताए ।
नेपालमा ग्यासको आयात र आपूर्ति सामान्य अवस्थाकै जस्तो रहेको अध्यक्ष घिमिरेको भनाइ छ । मुलुकलाई मासिक रूपमा आवश्यक पर्ने ४५ देखि ५० हजार मेट्रिक टन ग्यास नियमित रूपमा भित्रिरहेको उनले जानकारी दिए ।
बजारमा ग्यास नपाइने हो कि भन्ने त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेको घिमिरेको भनाइ छ । ‘जसलाई महिनामा एउटा सिलिन्डर भए पुग्छ, उहाँहरूसँग ५ वटासम्म सिलिन्डर हुनु र सबै भरेर राख्न खोज्नुले बजारमा माग अस्वाभाविक रूपमा बढेको हो,’ उनले भने, ‘एउटै उपभोक्ताले ५ महिनाको स्टक एकैपटक राख्न खोज्दा आपूर्ति व्यवस्थामा चाप परेको छ । ’
आपूर्तिमा केही समस्या देखिएको स्वीकार गर्दै घिमिरेले भारतको पश्चिम बंगालमा रहेका दुईवटा रिफाइनरीमा भइरहेको मर्मत सम्भार (मेन्टेनेन्स) का कारण आयातमा सामान्य प्रभाव परेको बताए । यद्यपि, यो समस्या छोटो समयका लागि मात्र भएको र छिट्टै समाधान हुने उनले विश्वास दिलाए ।
विपन्न र थोरै सिलिन्डर हुनेलाई मर्का अनावश्यक सञ्चय गर्ने प्रवृत्तिका कारण वास्तविक अभावमा रहेका उपभोक्ता, विशेषगरी जसको घरमा एउटा मात्र सिलिन्डर छ र त्यो सकिएपछि तुरुन्तै भर्नुपर्ने बाध्यता छ, उनीहरू बढी मारमा परेको घिमिरेले बताए ।
उनले भने, ‘जसको एउटा मात्र सिलिन्डर छ र चुलो निभ्न लागेको छ, उहाँहरूलाई अहिले गाह्रो भएको छ । सञ्चय गर्नेहरूका कारण वास्तविक अभाव सिर्जना भएको हो । ’
बजारमा देखिएको यो अवस्थामा सरकार, ग्यास उद्योगी वा बिक्रेताको कुनै दोष नरहेको अध्यक्ष घिमिरेले प्रस्ट पारे ।
उनले भने, ‘आयात कम भएको भए सरकारको दोष हुन्थ्यो, लुकाएको भए उद्योगी वा बिक्रेता दोषी हुन्थे । तर, यहाँ आयात सामान्य छ, वितरण पनि भइरहेको छ ।
निगम र व्यवसायीबीच आरोप-प्रत्यारोप
ग्यासको अभावलाई लिएर नेपाल आयल निगम र ग्यास व्यवसायीहरूले भने एक-अर्कालाई दोषारोपण गरिरहेका छन् । नेपाल ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार अहिलेको अभाव हुनुमा आयल निगम र ग्यास उद्योगीहरूको मुख्य भूमिका छ ।
उनी भन्छन्, ‘ग्यास कम्पनीहरूले भ्याट क्रेडिटका लागि मात्रै बजारमा झन्डै ६० लाख अतिरिक्त सिलिन्डर बेचेका छन् । आयल निगमले यसलाई नियमन गर्न नसक्दा अहिलेको समस्या आएको हो । ’
अर्यालले बजारमा ग्यासको मागभन्दा बढी सिलिन्डर भएकाले उपभोक्ताले एउटाको ठाउँमा तीनवटा सिलिन्डर भर्न खोज्दा माग तेब्बर देखिएको दाबी गरे। सरकारले उपभोक्ताको समस्या नसुनेको भन्दै उनले थपे, ‘सरकार कानमा तेल हालेर बसेको छ । जबसम्म सिलिन्डरको धरौटी रकमको सरकारी ग्यारेन्टी हुन्न, तबसम्म यो लफडा चलिरहन्छ । ’
व्यवसायीका अनुसार ४ महिनाअघि नै फुल सिलिन्डर वितरण गरेको भए यस्तो अभाव हुने थिएन ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर भने आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्छन् । बजारमा ग्यासको अभाव देखिनुमा उपभोक्ताको प्रतीक्षा र एकाएक बढेको मागलाई उनी मुख्य कारण मान्छन् ।
ठाकुर भन्छन्, ‘बीचमा ७.१ केजी (आधा) ग्यास वितरण हुँदा उपभोक्ताहरू १४.२ केजी (पूरा) ग्यास आउला भनेर कुरेर बसे । असार १ गतेदेखि पूरा सिलिन्डर दिने निर्णय भएपछि एकाएक माग बढ्यो, जसले गर्दा बजारमा सिलिन्डर रोटेसनमा दबाब देखियो । ’
निगमका अनुसार अहिले भारतबाट दैनिक करिब ११० बुलेट ग्यास आइरहेको छ, जबकि सामान्य अवस्थामा ९० देखि ९५ बुलेटले पुग्ने गर्छ । बजारको माग धान्न अहिले दैनिक १०० बुलेटभन्दा बढी लोडिङ भइरहेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता ठाकुरका अनुसार नेपालभर दैनिक करिब १ लाख सिलिन्डर ग्यास खपत हुन्छ, जसको ५० देखि ५५ प्रतिशत हिस्सा काठमाडौं उपत्यकाले मात्र ओगट्छ । आपूर्ति नियमित भइरहेकाले अबको एक देखि दुई हप्ताभित्र बजार पूर्ण रूपमा सहज हुने निगमको दाबी छ ।
यद्यपि, व्यवसायीहरू भने सरकारले तत्काल ठोस कदम नचाले यो समस्या आगामी ६ महिनासम्म लम्बिन सक्ने चेतावनी दिन्छन् । अभावका बीच कतिपय ठाउँमा कालोबजारी भएको गुनासो आए पनि व्यवसायीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
उपभोक्ताले भने आधा ग्यास १० दिन पनि नटिकने गरेको गुनासो गरेका छन् । निगमले सिलिन्डर लिँदा तौल जोखेर मात्रै लिन र केही त्रुटि देखिएमा गुनासो गर्न आग्रह गरेको छ । आयल निगम र व्यवसायीबीचको यो खिचातानीका बीच सर्वसाधारण भने रित्तो सिलिन्डर लिएर घण्टौं लाइनमा बस्न रित्तो हात घर फर्किन बाध्य छन् ।
समाधान कहिले ?
आयल निगमले अबको एक देखि दुई साताभित्र बजार पूर्ण रूपमा सहज हुने दाबी गरेको छ । तर, व्यवसायीहरू भने सरकारले ठोस कदम नचाले यो समस्या ६ महिनासम्म लम्बिन सक्ने चेतावनी दिइरहेका छन् ।
बजारमा कतिपय ठाउँमा कालोबजारी भएको र आधा ग्यास १० दिन पनि नटिक्ने गरेको गुनासो उपभोक्ताको छ । यस्तो अवस्थामा निगमले तौल जोखेर मात्र सिलिन्डर लिन आग्रह गरेको छ ।