काठमाडौं । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले करिब ६ करोड ६२ लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थापक सेयरधनीबाट सेयर बिक्रीका लागि निवेदन परेपछि कम्पनीले ५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
कम्पनीका अनुसार प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसाको मूल्य निर्धारण गरिएको छ । उक्त मूल्यका आधारमा कुल ६ करोड ६१ लाख ५५ हजार २५० रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।
कम्पनीको उक्त सेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक सेयरधनीहरूलाई दिइएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले १५ दिनभित्र कम्पनीबाट १०० रुपैयाँ तिरेर आवेदन फारम खरिद गरी आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य स्पष्ट उल्लेख गर्दै गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ ।
कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकबाहेक अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।