मोज्तबा खामेनेई खोज्दै मोसाद र सीआईए, भेटिएन कुनै सुराक

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईको खोजीमा इजरायल र अमेरिकाका गुप्तचर निकायहरू सक्रिय रूपमा लागेको दाबी गरिएको छ ।

बेलायती अखबार ‘द टाइम्स’को रिपोर्टअनुसार इजरायलको मोसाद र अमेरिकाको सीआईएले संयुक्त रूपमा इरानका नयाँ सर्वोच्च नेताको लुक्ने स्थान पत्ता लगाउने प्रयास गरिरहेका हुन् ।

रिपोर्टका अनुसार गत फेब्रुअरीको अन्त्यतिर तत्कालीन सर्वोच्च नेता अली खामेनेईको हत्या भएपछि मोज्तबा सार्वजनिक रूपमा देखिएका छैनन् । उक्त आक्रमणमा उनी स्वयं पनि गम्भीर घाइते भएको दाबी गरिएको छ ।

विभिन्न रिपोर्टहरूमा मोज्तबा खामेनेईको स्वास्थ्य अवस्था राम्रो नरहेको उल्लेख गरिएको छ । उनका चोटपटकबारे गम्भीर घाइतेदेखि शारीरिक अवस्था बिग्रिएकोसम्मका फरक–फरक दाबी गरिएका छन् ।

उनलाई बोल्नसमेत समस्या हुने भएकाले हालसम्म कुनै सार्वजनिक सम्बोधन नगरेको र उनका सबै वक्तव्य लिखित रूपमा मात्र जारी हुने गरेको बताइएको छ ।

द टाइम्सका अनुसार मोज्तबाको यही मौनता नै मोसाद र सीआईएका लागि उनलाई खोज्न सबैभन्दा ठूलो चुनौती बनेको छ । 

रिपोर्टमा दाबी गरिएअनुसार उनले १५० दिनभन्दा बढी समयदेखि न त फोनमा कुरा गरेका छन्, न त ल्यापटप नै खोलेका छन् । उनी अज्ञात स्थानमा भूमिगत बंकरमा बसिरहेको बताइएको छ ।

रिपोर्टअनुसार मोज्तबा खामेनेई दिनको उज्यालोमा बंकरबाट बाहिर निस्कँदैनन् । अमेरिकी जासुसी उपग्रहले आफूलाई पहिचान गर्न सक्ने डरका कारण उनी बाहिर नआउने बताइएको छ ।

त्यसैले उनको खोजीका लागि इजरायल र अमेरिका इरानभित्र रहेका आफ्ना गुप्तचर सञ्जालमा निर्भर रहेको दाबी गरिएको छ ।

त्यस्तै, मोज्तबाको मृत्यु फेब्रुअरी २९ मै भएको वा पछि घाइतेकै कारण मृत्यु भएको हुन सक्ने चर्चा पनि चलिरहेको रिपोर्टमा उल्लेख छ ।

साथै इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीर्सी)का अधिकारीहरूले उनी जीवित रहेको भन्दै गलत सूचना फैलाइरहेको आशंका पनि गरिएको छ ।

द टाइम्सका अनुसार मोसादले इरानभित्र रहेका आफ्ना एजेन्टमार्फत मोज्तबा जीवित छन् कि छैनन् र उनी कहाँ लुकेका छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ ।

मोसादका एक पूर्वअधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘मोज्तबाले फोन प्रयोग नगरे पनि यदि उनी जीवित छन् भने कुनै न कुनै माध्यमबाट अवश्य सञ्चार गरिरहेका होलान्, जस्तै कागजी चिर्कटमार्फत सन्देश आदानप्रदान ।’ 

त्यसैले उनलाई पत्ता लगाउने मुख्य आधार मानव गुप्तचर नै हुने विश्वास गरिएको छ ।

रिपोर्टमा थप दाबी गर्दै भनिएको छ कि सीआईएले अल–कायदा प्रमुख ओसामा बिन लादेनलाई पनि सन्देश बोक्ने कुरियरमार्फत ट्र्याक गरेर पत्ता लगाएको थियो । 

मोसादका अर्का एक पूर्व अधिकारीका अनुसार मोज्तबा अत्यन्त गोप्य रूपमा बस्ने गरेका छन् र आईआरजीसीले उनको वास्तविक स्थान लुकाउन उनका डुप्लिकेटसमेत प्रयोग गरिरहेको हुनसक्छ ।

एआईले पाँच वर्षमै मानव बुद्धिलाई उछिन्ला ? मस्कको चेतावनी कत्तिको जायज ?

Share News