बाढी–पहिरोले रिडी पावरको इवा खोला आयोजना ठप्प, उत्पादन बन्द

काठमाडौं । बाढी र पहिरोका कारण रिडी पावर कम्पनी लिमिटेडको इवा खोला जलविद्युत् आयोजना बन्द भएको छ ।

कम्पनीले ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रूपमा रोकिएको जनाएको हो ।

कम्पनीका अनुसार पाँचथर जिल्लामा आएको बाढी र पहिरोले आयोजनाको हेडरेस पाइपलाइन क्षेत्रमा क्षति पुगेको छ । एङ्कर ब्लक, पाइप सपोर्टलगायत संरचनामा असर पुगेपछि पाइपलाइनमा अत्यधिक दबाब सिर्जना भएको र विभिन्न स्थानमा पाइप फुट्ने तथा चिरा पर्ने समस्या देखिएको जनाएको छ ।

क्षतिको विस्तृत मूल्याङ्कनपछि मर्मत तथा परीक्षणको काम अघि बढाइएको कम्पनीले जनाएको छ । आयोजनालाई सुरक्षित रूपमा पुनः सञ्चालन गर्न आवश्यक प्राविधिक काम भइरहेको पनि कम्पनीको भनाइ छ ।

यसैबीच, कम्पनीले आयोजना गत असार २६ गतेदेखि अस्थायी रूपमा बन्द रहेको जानकारी दिएको छ । मर्मत सम्पन्न भएपछि उत्पादन पुनः सञ्चालन हुने मिति औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ ।

Share News