व्यवसायीलाई भाग्ने अवस्थामा पुर्याउँदै राज्य

एकाबिहानै व्यवसायी बेनी गोपालको घरमा प्रहरीले छापा

काठमाडौं । प्रहरीले सोमबार बिहानै उद्योगी तथा व्यवसायी बेनी गोपाल मुन्दराको घरमा प्रहरीले छापा मार्यो । विराटनगर महानगरपालिका–७ स्थित उनको निवासमा प्रहरीले छापा मारेको हो ।

घरमा गैरकानुनी वस्तुहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।  पूर्वको प्रतिष्ठित व्यापारिक घराना देवनारा समूहको घरमा मात्र नभइ कार्यालयमासमेत प्रहरी प्रवेश गरेको थियो । 

प्रहरीले छापा मार्ने क्रममा बाटोसमेत ब्लक गरेको थियो । घण्टौंसम्म सोही आसपासको क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत दिइएको थिएन ।

प्रहरीले व्यापारीको घरमा छापा मारेपछि कोशी प्रदेशका व्यापारी तथा उद्योगी त्रसित बनेका छन् । मुन्दराको घरमा प्रहरीले छापा मारेपछि राज्यप्रति व्यवसायी पुनः आशंकित बनेका छन् ।

प्रमाणबिना व्यवसायीमाथि गरिएको धरपकडले मनोबल खस्किने मोरङ व्यापार संघका एक पदाधिकारीले बताए । उनका अनुसार राज्यले अपुष्ट सूचनाकै भरमा व्यवसायीको घरमा प्रहरी जानुले व्यवसायीको मानमर्दन गर्न खोजेको छ ।

प्रहरी र राज्यले गरेको व्यवहारले व्यवसायीहरू सन्तोषजनक ढंगले व्यापार गर्न नपाइने त्रास फैलिने उनको भनाइ छ । 

‘कुनै पनि व्यवसायी वा घरानाविरुद्ध कारबाही गर्नुअघि ठोस प्रमाण हुनुपर्छ,’ उनले भने, ‘राज्यसँग शक्ति छ भन्दैमा कमजोरमाथि धरपकड गर्न हुँदैन । हतारमा कारबाही गरेर व्यवसायीलाई त्रसाउन खोजेको जस्तो देखिन्छ ।’

नेपालमा वर्षौंदेखि लगानीकर्ताहरूले नीतिगत अस्थिरता र प्रशासनिक अनिश्चितताको गुनासो गर्दै आएका छन् । उद्यमीहरूलाई गिराउने काम राम्रो नभएको ती पदाधिकारीको भनाइ छ । 

कुनै व्यक्ति वा संस्थालाई शंकाको आधारमा अनुसन्धान गर्नु अस्वाभाविक भएको मोरङ उद्योग वाणिज्य संघका अर्का पदाधिकारी बताउँछन् । अपराधको गम्भीरतासँग व्यवसायीको सामाजिक प्रतिष्ठा पनि ख्याल गरिनुपर्ने उनको भनाइ छ ।  

प्रहरी परिचालन गरेर समस्याको समाधान नहुने उनको बुझाइ छ । ‘अनुसन्धान गर्न पाइन्छ, नपाइने होइन । तर सयमको पनि ख्याल गर्नुपर्छ । बिहानै आएर अरूको प्रतिष्ठाको कदर पनि त गर्नुपर्छ,’ उनले भने ।

व्यवसायीको लागि राज्य पनि जवाफदेही हुनुपर्ने उनको भनाइ छ । सरकारको यस्ता व्यवसायीलाई लगानी गर्न सोच्नुपर्ने अवस्था आएको उनले बताए ।

देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् । जसको समूहअन्तर्गत हाल आधा दर्जन उद्योग सञ्चालनमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रले विशेष सूचनाको आधारमा घर खानतलासी गरिएको जानकारी दिए ।

‘जुन सूचनाको आधारमा प्रहरी गएको थियो त्यस्तो कुनै प्रमाण फेला परेन,’ उनले भने, ‘प्रहरीले आफ्नो काम कर्तव्यमात्र निभाएको हो । हाम्रो उद्देश्य व्यवसायीलाई दुःख दिनु होइन ।’

स्रोत नखुलेको पैसा र सुनचाँदी भएको खबर आएको मिश्रको दावी छ । प्रहरी सूचना बिना कहिले पनि नजाने उनको भनाइ छ ।  

मुन्दराको घरमा छापा मार्दा केही पनि नभेटिए पनि उनीमाथि भने अनुसन्धान जारी रहेको मिश्रले जानकारी दिए 

मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकडप्रति व्यवसायीहरूले आपत्ति जनाउँदै सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न र धरपकड नगर्नसमेत आग्रह गरेका छन् ।  

पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन पनि राज्यलाई उनीहरूले आग्रह गरेका छन् । 

Share News