नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सिफारिस समितिले कौशल केसी, नागेन्द्र साह र सञ्जीव कुमार देवको नाम मन्त्रिपरिषदमा निर्णयका लागि पठाएको हो ।

समितिको साउन १७ गते बसेको बैठकबाट तिनै जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

अब मन्त्रिपरिषद्ले सिफारिस भएका उम्मेदवारमध्ये एक जनालाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ।

निगमको कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले असार २ गते खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो । 

निर्धारित प्रक्रियाअनुसार आवेदन दिएका उम्मेदवारको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताको मूल्याङ्कनपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको हो ।

सार्वजनिक संस्थानको प्रमुख कार्यकारी छनोटसम्बन्धी प्रचलित व्यवस्था अनुसार सिफारिस समितिले योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषदमा पठाउने र अन्तिम नियुक्तिको निर्णय मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ । 

त्यसअनुसार अब मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल आयल निगमको नयाँ कार्यकारी निर्देशक नियुक्त हुने अपेक्षा गरिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

नेपाल आयल निगम इन्धन आयात, भण्डारण, वितरण तथा आपूर्ति व्यवस्थापन गर्ने मुलुकको प्रमुख सार्वजनिक संस्थान हो ।

Share News