गृहमन्त्रीले गरेको १३ बुँदे सहमतिमाथि कांग्रेसको प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले धनुषामा गरेको १३ बुँदे सहमतिप्रति प्रतिनिधिसभामा प्रश्न उठाएको छ ।

मंगलबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निष्कल राईले सुनसरीमा भएको धार्मिक तथा साम्प्रदायिक तनावको विषय उठाउँदै सरकारको भूमिकामाथि प्रश्न गरेका हुन् ।

उनले तनावग्रस्त क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रहसमेत गरे ।

राईले सुनसरी घटनापछि उत्पन्न भएको तनावका क्रममा प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्री गुरुङले मधेसमा एक समूहसँग गरेको भनिएको १३ बुँदे सहमति सार्वजनिक रूपमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । 

उक्त सहमतिका विषयमा विभिन्न राजनीतिक तथा सामाजिक वृत्तमा विवाद र प्रश्न उठिरहेका बेला सरकारले आधिकारिक धारणा दिनुपर्ने उनको भनाइ थियो ।

कांग्रेसले धार्मिक तथा साम्प्रदायिक संवेदनशीलतासँग जोडिएका विषयमा सरकारले कुनै पनि निर्णय वा सहमति गर्दा संविधान, कानुन र राष्ट्रिय एकतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएको छ । 

साथै यस्ता घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र सामाजिक सद्भाव पुनःस्थापना गर्न प्रभावकारी पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

Share News