भेटेरिनरी कार्यालयका प्रमुखविरुद्ध १ लाख ३२ हजार घुस लिएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो ।

अख्तियारका अनुसार उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिने भन्दै २० प्रतिशत कमिसनस्वरूप घुस मागेका थिए ।

उजुरीपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा डा. दासले कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा पशु खोप कार्यक्रमका लागि नियुक्त गरिएका भ्याक्सिनेटरहरूको पारिश्रमिक भुक्तानी गराइदिने नाममा सवारी चालक भोगेन्द्र यादवसँग मिलेमतो गरी कम्तीमा २० प्रतिशत रकम घुस मागेको खुलेको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार दुवैले भ्याक्सिनेटरहरूलाई दबाबमा पारेर १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको प्रमाण फेला परेको छ ।

उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर हुने भन्दै अख्तियारले १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

Share News