काठमाडौं । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि इच्छुक बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाबाट प्रस्ताव आह्वान गरेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रमका लागि मन्त्रालयले कोशी प्रदेश कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८३ बमोजिम प्रस्ताव मागेको हो।
मन्त्रालयका अनुसार कृषि उद्यमीलाई बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत कृषि कर्जा उपलब्ध गराई कार्यविधिअनुसार ब्याज अनुदान प्रदान गरिनेछ । कार्यक्रममा सहभागी हुन इच्छुक संस्थाले कार्यविधिको अनुसूची-२ बमोजिम १५ दिनभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले भने आफ्नो प्रादेशिक कार्यालयमार्फत प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।