चिनियाँ राष्ट्रपतिले चढ्ने गाडी नाइमा एक्स्पोमा

होङ्ची र लिन्क एण्ड को ब्राण्ड नेपालका लागि बिल्कुलै नयाँ हुन् ।

साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोट्र्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को दोस्रो संस्करण ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को आयोजना हुँदैछ । एक्स्पो नजिकिएसँगै अटो व्यवसायीहरू स्टल निर्माणमा जुटेका छन् । यसपटकको एक्स्पोमा ४० वटा नयाँ ब्राण्डहरू लन्च हुँदैछन् । जसमध्ये ८ वटा ब्राण्ड मात्रै विशाल ग्रुपअन्तर्गतको एमजी गाडीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले तयारी गरिरहेको छ । वास्तवमा यो एक्स्पोमा पारामाउन्ट मोटर्सले कुन ब्राण्ड सार्वजनिक गर्दैछ ? ग्राहक र अवलोकनकर्ताले एमजीको स्टलमा के नयाँ अनुभव गर्न पाउनेछन् ? यिनै विषयमा केन्द्रित रहेर विकासन्युजका नरेन्द्र विष्टले पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीसँग कुराकानी गरेका छन् । 

यसपटकको एक्स्पोमा पारामाउन्ट मोटर्सले​​​​​ कुन-कुन गाडीहरू प्रदर्शनीमा राख्दैछ ?

यसपटक हामीले चारवटा मुख्य ब्रान्डहरू प्रदर्शनीमा राख्नेछाैं । जसमा एमजी, होङ्ची गुओली, वुलिङ र लिन्क एण्ड कोको सहभागिता रहन्छ । यी चारवटा ब्रान्डका लागि हामीले चारवटा छुट्टाछुट्टै प्रिमियम स्टलहरूको व्यवस्था गरेका छौं । होङ्ची गुओली र लिन्क एण्ड को ब्राण्ड नेपालका लागि बिल्कुलै नयाँ हुन् ।

एमजी ब्रान्डमा यसपटक के-के नयाँ देख्न पाइनेछ ?

एमजीमा हाम्रा नियमित मोडलहरू एमजी जेडएस ईभी, एमजी फोर र एमजी फाइभ त हुने नै छन् । त्यसबाहेक हामीले दुईवटा नयाँ मोडल लन्च गर्दैछौं ।  एउटा हाइब्रिड मोडल र अर्को यू नाइन नामको इलेक्ट्रिक पिकअप । एक्स्पोमा यी दुवै मोडल हाम्रो विशेष आकर्षणका रूपमा रहनेछन् । 

वुलिङ ब्रान्डका कुन–कुन नयाँ गाडीहरू थपिँदैछन् ?

वुलिङमा हामीले पहिलेदेखि नै एयर ईभी बिक्री गर्दै आएका थियौं । यसपटक हामी थप तीनवटा नयाँ मोडल ल्याउँदैछौं । जसमा बिङ्गो (सानो ४ ढोके गाडी), क्लाउड ईभी (५ सिटर लक्जरी एमपीभी) र बाओजुन (इलेक्ट्रिक एसयूभी) रहेका छन् । 

नेपालका लागि नयाँ ब्रान्ड होङ्ची गुओलीको बारेमा केही बताइदिनूस् न, यसको चर्चा किन बढी छ ?

होङ्ची गुओली चीनको निकै पुरानो र प्रतिष्ठित प्रिमियम ब्रान्ड हो । यो कतिसम्म विलासी छ भने चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो आधिकारिक गाडीका रूपमा यसै ब्रान्डलाई प्रयोग गर्नुहुन्छ । उहाँमात्र नभई चीनका विगतका राष्ट्रप्रमुखहरूले पनि यसैलाई रोज्नुहुन्थ्यो । नेपालमा हामीले यसका दुईवटा मोडल ई–एचएस ९ (लक्जरी एसयूभी) र ई-क्यूएम ५ सार्वजनिक गर्दैछौं । चिनियाँ भाषामा होङ्ची गुओलीको शाब्दिक अर्थ रातो झण्डा भन्ने हुन्छ । होङ्ची गुओलीले आईसीई इन्जिन, हाइब्रिड र बिईभीगरी तीनवटै पावर ट्रेनका कार उत्पादन गर्दै आइरहेको छ । यसको मूल्य नाइमा एक्स्पोमा राख्नेछाैं ।

null

लिन्क एण्ड को ब्रान्डका गाडीहरू के-कस्ता छन् ?

यो हाम्रो लाइट कमर्सियल भेहिकल ब्रान्ड हो । यसमा हामीले जी १०० मोडलको इलेक्ट्रिक पिकअप ट्रक ल्याउँदैछौं । यसको भारवहन क्षमता १.५ टन छ भने यसमा ४२ किलोवाटको ब्याट्री र १० फिट लामो डाला उपलब्ध छ ।

यस पटक कतिवटा गाडीहरू लन्च हुँदैछन् र स्टलको तयारी कस्तो छ ?

हामी सबै ब्रान्डका गरी कुल ८ वटा नयाँ मोडल सार्वजनिक गर्दैछौं । एमजीका २, वुलिङका ३, होङ्ची गुओलीका २ र लिन्क एण्ड कोको १ । स्टल निर्माणको काम सुरु भइसकेको छ । यसपटक हामी निकै प्रिमियम अनुभव दिने गरी स्टलहरू बनाउँदैछौं । काम धमाधम भइरहेको छ । 

ग्राहकहरूका लागि विशेष आकर्षण र सुविधाहरू के-के छन् ?

ग्राहकहरूले नयाँ प्रविधि, विशेषगरी एमजीको हाइब्रिड टेक्नोलोजी र विश्वस्तरीय विलासी गाडीहरू नजिकबाट हेर्न पाउनुहुनेछ । अटो शोको समयमा विशेष मूल्य र आकर्षक अफरहरू पनि हुनेछन्, जसको घोषणा हामी नाइमामै गर्नेछौं । 

गाडी खरिद गर्न चाहने ग्राहकका लागि बैंक फाइनान्सिङको के व्यवस्था छ ?

हाललाई हाम्रो कुनै विशेष बैंकसँग मात्र टाइअप त छैन, तर ग्राहकहरूले आफ्नो अनुकूलताअनुसार जुनसुकै बैंकबाट पनि फाइनान्सिङ गराउन सक्नुहुन्छ । आवश्यकता अनुसार हामी आगामी दिनमा बैंकहरूसँग सहकार्य पनि बढाउँदै लैजानेछौं । 

Share News