मुलुक गम्भीर सङ्कटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक सङ्कटबाट मुक्त गर्न आफ्नो पार्टी बलियो हुनुपर्ने बताएका छन् ।

राप्रपा काठमाडौं महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोसेढुङ्गा’ का रूपमा चित्रण गरेका हुन् । पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पङ्क्ति तयारीमा केन्द्रित भएको उनले जानकारी दिए ।

विगतका ठूला दलहरूप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाका बीच वर्तमान राजनीतिक समीकरण निर्माण भए पनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको उनको तर्क छ । उनले दैनिक ज्याला–मजदुरी गर्ने श्रमिकदेखि निजी क्षेत्रसम्म अहिले असुरक्षित र आतङ्कित महसुस गरिरहेको दाबी गरे ।

अध्यक्ष लिङदेनले भने, ‘अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मङ्सिरमा हुने महाधिवेशन हो । यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ । देशमा महँगीले सीमा नाघेको छ र बजारमा कृत्रिम अभाव व्याप्त छ, तर यसबारे बोल्ने कोही छैन । मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको छ । यस्तो अवस्थामा गरिब, सुकुम्बासी र आम सर्वसाधारणका लागि उभिने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ ।’

उनले देशलाई विद्यमान सङ्कटबाट निकाल्न राप्रपा नयाँ सोच र दृष्टिकोणका साथ जनताको माझमा जानुको विकल्प नरहेको उल्लेख गरे । हाल भइरहेका स्थानीय तहका अधिवेशनहरूलाई महाधिवेशनको पूर्वतयारी र सङ्गठन सुदृढीकरणको महत्त्वपूर्ण आधारका रूपमा उपयोग गर्नसमेत उनले कार्यकर्ताहरूलाई निर्देशन दिए ।

Share News