पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधा सञ्चालन, दैनिक १६ गाडीलाई सेवा दिने क्षमता

काठमाडौं । बीवाईडीको पोखरामा पूर्ण थ्री–एस सुविधा सञ्चालनमा आएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा–१०, बुद्धचोकमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री–एस) सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

पोखरा तथा गण्डकी प्रदेश आसपासका बीवाईडी ग्राहकले अब कम्पनीकै आधिकारिक सेवा सञ्जालमार्फत बिक्रीपछिको सेवा पाउने भएका छन् । यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए ।

अब भने ग्राहकले आधिकारिक सर्भिस सेन्टरबाट अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा पाउनेछन् । साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीको सवारी बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध र जिम्मेवारी कायम रहने बताए ।

उनका अनुसार पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक र जेन्युइन स्पेयर पार्ट्ससहित ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।

करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टर विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका लागि आवश्यक सुविधासहित निर्माण गरिएको छ । सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट छन् । छुट्टाछुट्टै मर्मत क्षेत्र र हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्रसमेत रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बेको सुविधा पनि उपलब्ध छ ।सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ । यसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

ग्राहकले नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स र वारेन्टी सेवा लिन सक्नेछन् । त्यस्तै, जेन्युइन स्पेयर पार्ट्स तथा डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा पनि उपलब्ध हुनेछ ।

नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई कम्पनीले बिक्रीपछिको सेवा सञ्जाल विस्तारको महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीले नयाँ पुस्ताका विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिरहेको अवस्थामा सेवा सञ्जाल विस्तारलाई कम्पनीले नेपाल बजारप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा प्रस्तुत गरेको छ ।

Share News